काठमाडौं, १ फागुन । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले २१ बुँदे पत्र संसद् सचिवालयमा बुझाएका हुन् ।
आफूहरुलाई सुईंकोसमेत नदिई महाभियोग प्रस्ताव दर्ता गराइएको एमालेका संसदीय दलको उपनेता सुवास नेम्वाङ बताउँछन् ।
नेता, सांसदहरु चुनावको तयारीका लागि सातै प्रदेशमा गएकाले आएपछि छलफल गरेर एउटा टुंगोमा पुग्ने उनले बताए ।
“हाम्रा सबै सांसदहरु नेताहरु सत्तापक्षलाई जानकारी गराएर नै हामी निर्वाचनको तयारीमा सातै प्रदेशमा छरिएर आज र भोलिका लागि गएका हौं । तर, अचानक सुईंकोसमेत नदिइ गम्भीर कुराहरु भएका छन् । हामी यसबारेमा छलफल गर्छौं,” उनले भने ।
स्थानीय निर्वाचनको घोषणा गरेको र अदातलतमा गम्भीर मुद्दा विचाराधीन रहेका बेला सरकारबाट यस्तो प्रस्ताव किन आयो भन्ने प्रश्न उठेको बताउँछन् ।
“हामी सबैको दबाबबाट बल्ल बल्ल देशमा स्थानीय तहको चुनावको घोषणा भएको छ । अहिले अचानक यस्तो काम भयो । सर्वोच्च अदालतका थुप्रै गम्भीर मुद्दा विचाराधीन छन् । यो अवस्थामा किन यस्तो गरियो थाहा छैन । तैपनि हामीले हाम्रा सांसद, नेताहरुलाई खबर गरेका छौं । हामी बस्छौं र टुंगोमा पुग्छौं,” उनले भने ।