कांग्रेसमा दोस्रो पुस्ताको मेलमिलाप पहल

123 Shares

काठमाडौँ । नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच पछिल्ला केही सातादेखि बढ्दै गएको आरोप–प्रत्यारोप, सार्वजनिक गालीगलौज र समानान्तर गतिविधिले पार्टीको आन्तरिक एकतालाई गम्भीर चुनौती दिएको छ ।
पार्टीभित्रको ध्रुवीकरण यति तीव्र बन्दै गएको छ कि नेताहरू नै कांग्रेस विभाजनको जोखिमबारे खुला रूपमा चिन्ता व्यक्त गर्न थालेका छन् । यही परिस्थितिमा कांग्रेसका दोस्रो पुस्ताका नेताहरूले दुवै पक्षलाई वार्ताको टेबलमा ल्याएर पार्टी एकता जोगाउने प्रयास सुरु गरेका छन् ।
संस्थापन इतर पक्षले बीपी कोइरालाका पुत्र डा। शशांक कोइरालाको संयोजकत्वमा पार्टी पुनर्गठनको उद्देश्यसहित समन्वय समिति बनाउने निर्णय गरेपछि संस्थापन पक्षले त्यसलाई समानान्तर संरचनाको संकेतका रूपमा हेरेको छ । यसले दुवै पक्षबीचको अविश्वास अझ बढाएको छ ।
यही तनाव कम गर्न कांग्रेसका दोस्रो पुस्ताका नेताहरूले औपचारिक र अनौपचारिक दुवै तहमा छलफल अघि बढाएका छन् । दोस्रो पुस्ताका नेताहरू महामन्त्री प्रदीप पौडेल, नेता बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, अजयबाबु शिवाकोटी, राजीव ढुंगाना, चन्द्र भण्डारीलगायत नेताहरूले दुवै पक्षका शीर्ष नेतासँग छुट्टाछुट्टै संवाद गरी सहमतिको वातावरण बनाउन प्रयास गरिरहेका छन् । उनीहरूको साझा धारणा छ, कांग्रेस विभाजित भए त्यसको सबैभन्दा ठूलो नोक्सानी लोकतान्त्रिक शक्तिलाई हुनेछ ।
दोस्रो पुस्ताका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने– ‘पार्टीभित्र मतभेद हुनु स्वाभाविक हो, तर संवाद बन्द हुनु सबैभन्दा खतरनाक अवस्था हो । अहिले पहिलो आवश्यकता भनेको एकअर्काप्रतिको अविश्वास हटाउनु र सबैलाई एउटै टेबलमा बसाउनु हो ।’
पार्टी सभापति गगन थापाले पनि कांग्रेसको भविष्य व्यक्तिगत शक्ति प्रदर्शनभन्दा सामूहिक एकतामा निर्भर रहेको बताउनुभएको छ । उहाँले इतर पक्षलाई लक्षित गर्दै कांग्रेसलाई बलियो बनाउने अभियानमा कुनै हिचकिचाहट नगरी सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँको भनाइ छ– ‘कांग्रेसको भविष्य बलियो बनाउने हो भने सबै साथीहरू एक ठाउँमा उभिनुपर्छ । मतभेदलाई संवादबाट समाधान गर्न सकिन्छ । इतर पक्षले पनि कुनै हिचकिचाहट नराखी पार्टीलाई बलियो बनाउने अभियानमा सहभागी हुनुपर्छ । व्यक्तिगत असन्तुष्टिभन्दा संगठनको भविष्य ठूलो हो ।’
थापाले पार्टीभित्र फरक मत राख्ने अधिकार लोकतान्त्रिक अभ्यासको हिस्सा भए पनि समानान्तर गतिविधिले अन्ततः पार्टीलाई नै कमजोर बनाउने धारणा राख्नुभएको छ । उहाँले आफ्नो नेतृत्वले सबै पक्षलाई सम्मानजनक वातावरण दिने प्रयास गरेको भए पनि प्रयासले सार्थकता नपाएको बताउनुभएको छ ।
यता संस्थापन इतर पक्षका नेता पूर्णबहादुर खड्काले भने संस्थापन पक्षको कार्यशैलीकै कारण छुट्टै भेला आयोजना गर्न बाध्य भएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘संस्थापन पक्ष पेलेर जाने मनस्थितिमा देखियो । फरक मतलाई सुन्ने वातावरण बनेन । त्यसैले पार्टीलाई सही दिशामा लैजान र कार्यकर्ताको आवाज उठाउन छुट्टै भेला आह्वान गर्नुपरेको हो । हाम्रो उद्देश्य पार्टी फुटाउनु होइन, पार्टीलाई सही मार्गमा फर्काउनु हो ।’
खड्काले पार्टीभित्र सम्मानजनक संवाद, सामूहिक निर्णय र सबै पक्षको सहभागिता सुनिश्चित नभएसम्म विवाद समाधान नहुने बताउनुभएको छ । उहाँका अनुसार कांग्रेसलाई बचाउन नेतृत्व शैलीमा परिवर्तन आवश्यक छ ।
पार्टीका पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने कांग्रेसभित्रको विवादलाई संवादमार्फत समाधान गर्न नसकिने बताउँदै समानान्तर गतिविधि गर्नुपरेको निष्कर्षमा पुगेको छ । संस्थापन पक्षका नेताहरूले पार्टीका वैधानिक संरचनाभित्रै बसेर असन्तुष्टि समाधान गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
राजनीतिक विश्लेषक डा। कृष्ण हाछेथुका अनुसार कांग्रेसभित्र अहिले देखिएको संकट केवल व्यक्तिहरूबीचको शक्ति संघर्ष मात्र होइन, नेतृत्व हस्तान्तरण, संगठन सञ्चालन शैली र आगामी महाधिवेशनको तयारीसँग पनि जोडिएको विषय हो । उहाँले भन्नुभयो– ‘कांग्रेसको अहिलेको विवाद वैचारिकभन्दा बढी नेतृत्व र शक्ति सन्तुलनसँग सम्बन्धित देखिन्छ । समयमै संवाद भएन भने यसले पार्टीको संगठनात्मक क्षमता मात्र होइन, आगामी निर्वाचनको सम्भावनालाई पनि असर पार्न सक्छ ।’
राजनीतिक विश्लेषक प्रा। लोकराज बराल पनि कांग्रेसले अहिले आत्मसमीक्षा गर्नुपर्ने अवस्थामा पुगेको बताउनुहुन्छ । उहाँको भनाइ छ– ‘लोकतान्त्रिक दलभित्र बहस हुनु सकारात्मक हो । तर सार्वजनिक रूपमा एकअर्कामाथि आक्रमण गर्ने प्रवृत्ति बढे लोकतन्त्र कमजोर हुन्छ । कांग्रेसले संस्थागत निर्णय प्रक्रिया बलियो बनाउनुपर्छ ।’
विश्लेषक पुरञ्जन आचार्यले पनि दोस्रो पुस्ताको सक्रियतालाई सकारात्मक संकेतका रूपमा लिनुभएको छ । उहाँका अनुसार पुरानो पुस्ताले लचकता नदेखाए दोस्रो पुस्ताको पहल मात्रै पर्याप्त हुने छैन । उहाँले भन्नुभयो–‘दोस्रो पुस्ताले पुलको भूमिका खेल्न खोजेको देखिन्छ । तर शीर्ष नेताहरूले आफ्नो अडान केही खुकुलो नबनाए समाधान सम्भव छैन । अहिले सबैभन्दा आवश्यक कुरा विश्वासको पुनः निर्माण हो ।’
कांग्रेसका पुराना नेताहरू पनि सार्वजनिक रूपमा विभाजनको कुनै औचित्य नरहेको बताइरहेका छन् । उनीहरूका अनुसार पार्टीभित्र असन्तुष्टि भए पनि त्यसको समाधान संगठनभित्रै खोजिनुपर्छ । राजनीतिक वृत्तमा अहिले उठिरहेको मुख्य प्रश्न भनेको दोस्रो पुस्ताको पहलले दुवै पक्षलाई एउटै टेबलमा ल्याउन सक्छ कि सक्दैन भन्ने हो । किनकि दुवै पक्ष आ–आफ्नो अडानमा दृढ देखिएका छन् । यद्यपि अधिकांश नेताहरू कांग्रेस विभाजनले कुनै पनि पक्षलाई लाभ नपुग्ने निष्कर्षमा पुगेका छन् ।
विश्लेषकहरूको निष्कर्ष पनि स्पष्ट छ, कांग्रेसले अब व्यक्तिगत शक्ति प्रदर्शनको राजनीति त्यागेर संस्थागत नेतृत्व, नियमित आन्तरिक संवाद, फरक मतको सम्मान र साझा निर्णय प्रक्रियालाई मजबुत बनाउनुपर्ने बेला आएको छ । आगामी महाधिवेशनलाई शक्ति प्रदर्शनको प्रतिस्पर्धा होइन, संगठन सुदृढीकरणको अवसर बनाउन सके मात्रै कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका जोगाउन सक्ने उनीहरूको बुझाइ छ ।
यतिबेला कांग्रेसले सामना गरिरहेको चुनौती केवल आन्तरिक विवादको मात्र होइन, जनविश्वास जोगाउने पनि हो । यदि शीर्ष नेतृत्वले समयमै सहमति, सहकार्य र समन्वयको बाटो रोज्न सकेन भने पार्टीभित्रको वर्तमान ध्रुवीकरणले भविष्यमा अझ गम्भीर राजनीतिक परिणाम निम्त्याउन सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् । कांग्रेसको आगामी दिशा अब नेतृत्वको परिपक्वता, संवादको संस्कार र दोस्रो पुस्ताको मेलमिलाप प्रयासको सफलतामाथि धेरै हदसम्म निर्भर रहने देखिएको छ ।
गगन थापा, संस्थापन पक्ष
कांग्रेसको भविष्य बलियो बनाउने हो भने सबै साथीहरू एक ठाउँमा उभिनुपर्छ । मतभेदलाई संवादबाट समाधान गर्न सकिन्छ । इतर पक्षले पनि कुनै हिचकिचाहट नराखी पार्टीलाई बलियो बनाउने अभियानमा सहभागी हुनुपर्छ । व्यक्तिगत असन्तुष्टि भन्दा संगठनको भविष्य ठूलो हो ।
पूर्णबहादुर खड्का, संस्थापन इतर पक्ष
संस्थापन पक्ष पेलेर जाने मनस्थितिमा देखियो । फरक मतलाई सुन्ने वातावरण बनेन । त्यसैले पार्टीलाई सही दिशामा लैजान र कार्यकर्ताको आवाज उठाउन छुट्टै भेला आह्वान गर्नुपरेको हो । हाम्रो उद्देश्य पार्टी फुटाउनु होइन, पार्टीलाई सही मार्गमा फर्काउनु हो ।

सम्बन्धित समाचार