बच्चालाई जंकफुडबाट टाढै राखौं

22.9k Shares

डा. नितेश श्रेष्ठ, बाल रोग विशेषज्ञ, सुमेरु अस्पताल, धापाखेल

बच्चाहरुलाई मायाले जंगफुड खुवाउने परम्परा छ, तर त्यसले बच्चाको शरीरलाई हानी पु¥याइरहेको हुन्छ । त्यसैले बच्चालाई सकेसम्म जंकफुड नखुवाई घरमै बनेको खानेकुरा र मौशम अनुसारको फलफुल खाने बानी बसाल्नु पर्छ । त्यस्तै, बच्चाहरुलाई पछिल्लो समय महामारीको रुपमा रहेको कोरोना भाइरसबाट कसरी बचाउन सकिन्छ र कस्तो जीवन शैली अप्नाउनुपर्छ, बच्चालाई निरोगी कसरी बनाउन सकिन्छ भन्ने विषयमा सुमेरु अस्पताल धापाखेलका बाल रोग विशेषज्ञ डा. नितेश श्रेष्ठसँग खोजतलास साप्ताहिकले गरेको कुराकानी ः

० पछिल्लो समय कोरोना भाइरसका कारण बालबालिकाहरुमा संक्रमण बढेको पाइएको छ, के कारणले संक्रमण बढ्दै गएको होला ?

कोरोना भाइरसको संक्रमण बालबालिकामा बढ्नुको मुख्य कारण भनेको सामाजिक दुरी कायम नगरिनु, स्कुल खोलिनु, अनिवार्य माक्स प्रयोग नहुनु, भिडभाडमा जानु नै मुख्य कारण हो । मुख्य गरी पछिल्लो समय नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तिब्र गतिमा फैलिने भएका कारणले पनि धेरै बालबालिकाहरु कोरोना भाइरस संक्रमित बनेका हुन् ।

० कोरोना भाइरसबाट बच्ने उपायहरु के होलान् ?

बच्चाहरुलाई सकेसम्म माक्स प्रयोग गराउन लगाउने, बेलाबेलामा साबुन पानीले हात धुने बानी बसाल्ने, साथीहरुसँग खेल्दा सामाजिक दुरी कायम गराउने, घरका परिवारका सदस्यमध्ये कसैलाई कोरोना पोजेटिभ देखिएको वा कोरोनाको लक्षणहरु देखिएको अवस्थामा ती सदस्यबाट टाढा राख्ने, भिडभाडमा नलग्ने आदि ध्यान दिएको खण्डमा कोरोना भाइरसबाट बच्न सकिन्छ ।

० गर्भवती महिलाबाट बच्चामा कोरोना भाइरस सर्न सर्छ कि सर्दैन ?

गर्भवती महिलाबाट गर्भमा रहेको बच्चालाई संक्रमण सर्दैन । तर, गर्भमै रहेको बेलामा आमालाई कोरोना भाइरस पोजेटिभ देखिएको बेला आमाको शरीरमा बन्ने (एन्टीबडी) रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता झन् बढ्छ । तर, यो एन्टीबडी जाने कारणले बच्चामा मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन नियोनेट (एमआईएस—एन) भन्ने रोग हुने सम्भावना देखिन्छ । त्यसले बच्चाको शरीरभित्रै प्रतिउत्पादक रोग उत्पन्न हुने सम्भावना रहन्छ । यो अवस्था कम मात्रामा देखिने गरेको छ ।

० कोरोना भाइरसबाट संक्रमित आमाले स्तनपान गराउन हुन्छ कि हुँदैन ? 

नवजात शिशुलाई आमाको दुध अतिआवश्यक भएका कारण संक्रमित भएकी आमाले स्वास्थ्य मापदण्ड अप्नाएर दुध खुवाउन मिल्छ । यदि, कोरोना भाइरस संक्रमणले आमालाई खासै स्वास्थ्यमा समस्या नदेखाएको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरी बच्चालाई दुध खुवाउनुका साथै स्याहारसुसार गर्न पनि मिल्छ । अन्य बेलामा भने सामाजिक दुरी कायम गरी सतर्कता अप्नाउनुपर्ने हुन्छ ।

० जाडोमा बालबच्चालाई कसरी स्वास्थ राख्न सकिन्छ ?

जाडो मौशममा बालबच्चालाई बढी रोग लाग्ने भनेको रुघाखोकी, निमोनिया हो । यसबाट बच्नको लागि बच्चालाई न्यानो पारी राख्ने, खानपिनमा ध्यान दिने, जाडो मौशममा मानिसहरु एकआपसमा नजिकिएर बस्ने कारणले पनि बच्चालाई इन्फेक्सन भई रोग लाग्ने सम्भावना बढी हुन्छ । जाडोबाट बचाउनका लागि बच्चालाई कोइला र आगो बाली सेकाउने परम्परा छ, यो परम्पराका कारण बच्चाहरुमा स्वासप्रस्वासको समस्यादेखि लिएर निमोनियाको समस्या पनि हुने गरेको छ । बच्चालाई बरु न्यानो बनाउनका लागि न्यानो कपडा प्रयोग गर्ने, इलेक्ट्रोनिक हिटर प्रयोग गर्ने तर हिटरसँगै पानी भरेको भाडा राख्नुपर्छ । त्यस्तै, इन्फ्लुएन्जाको भ्याक्सिन लगाउनु पर्छ । यस्तो विधि अप्नाएको खण्डमा बच्चालाई जाडो मौशममा पनि रुघाखोकी र निमोनियाबाट बचाउन सकिन्छ । 

० जाडो मौशममा विशेष गरी बालबच्चाहरु कस्तो समस्या लिएर आउने गर्छन् ? 

जाडो मौशममा विशेष गरी भाइरल रुघाखोकी, झाडापखाला, निमोनियालगायतका समस्याहरुबाट ग्रसित बालबच्चाहरु आउने गर्छन् ।

० बोल्न नसक्ने बच्चा बिरामी भएको कसरी थाहा पाउने ?

बोल्न नसक्ने बच्चा बिरामी भएको थाहा पाउने तरिका भनेको सामान्य अवस्थामा रुने, खाना नखाने, नसुत्ने, बच्चामा आलश्यतापन झल्कने, वान्ता गर्ने, दिसापिसावमा समस्या आउने आदि कारणले पनि बच्चा विरामी भएको थाहा पाउन सकिन्छ । यस्तो अवस्थामा बच्चालाई तुरुन्तै चिकित्सककोमा लानुपर्ने हुन्छ । 

० नबोल्ने बच्चाको रोग पत्ता लगाउने तरिका के होला ?

बच्चाको अवस्था हेरेर एक्सरे, दिपास पिसाव, रगतको चेकजाँच गरिन्छ । त्यसपछि आवश्यकता अनुसार औषधी प्रयोग गर्ने गरिन्छ । 

० प्राथमिक उपचारको उपायहरु पनि छन् कि ?

छन् । ज्वरो आएको अवस्थामा उमेर र तौल अनुसार सिटामोलको झोल खुवाउने, ज्वरो आएको अवस्थामा गुम्साएर नराख्ने, झाडापखाला लागेको बेला जीवनजल खुवाउने, बढी नै ज्वरो आएको अवस्थामा खुल्ला गरेर मनतातो पानीले शरीर भरी मलमपट्टी गर्ने यसो गर्दा पनि ज्वरो कम नभएको अवस्थामा भने तुरुन्तै चिकित्सककोमा लानुपर्ने हुन्छ । 

० पछिल्लो समय बालबच्चामा प्रेसरको समस्या देखिने गरेको छ, के कारणले यस्तो समस्या आएको होला ?

बालबच्चामा प्रेसर बढ्ने रोग देखिनु भनेको जन्मजातै पनि हुन्छ, त्यसपछि अस्वस्थ खानपिन, एक्सरसाइज नगर्ने, मुटु र मृगौलाको समस्या भएको अवस्थामा पनि ब्लड प्रेसरमा समस्या आउने गरेको पाइएको छ ।

० पछिल्लो समय बालबच्चामा मोवाइल, टीभी, ट्यावको लत नै बसेको छ, यसबाट छुटाउन कस्ता उपाय अप्नाउनुपर्ला ?

पछिल्लो समय तपाईंले भनेजस्तो बच्चाहरु मोवाइल, ट्याव, टीभी नभई बस्नै नसक्ने अवस्था पुगेका छन् । यसले दिर्घकालिन असर पु¥याउँछ । यसबाट छुटकारा गराउन अहिलेदेखि नै विभिन्न गतिविधिमा संलग्न गराउनुपर्छ, जस्तो खेलकुद, शारीरिक व्यायाम, कुनै काममा व्यस्तता गराउने, विगतमा बच्चाहरु स्कुल जाने भएका कारण आमा—बाबुले खासै समय दिनुपर्ने अवस्था थिएन, तर कोरोना भाइरसका कारण बच्चाहरु स्कुल जाने अवस्था नरहेको अवस्थामा आमा—बाबुले पनि बच्चालाई समय दिएर मोवाइल, ट्याव, टीभी भन्दा पनि अन्य गतिविधिमा व्यस्त बनाउनु जरुरी भइसकेको छ । बच्चालाई अनुशासनमा राख्नका लागि आमा—बाबुले पनि त्यही अनुसारको गतिविधि गर्नु आवश्यक छ । 

० बच्चालाई कति समयसम्म आमाको दुधको आवश्यकता पर्छ ?

नवजात शिशुलाई ६ महिनासम्म आमाको दुध आवश्यकता पर्छ । तर, आमाको दुधले नपुगेको अवस्थामा बट्टाको दुध जस्तो ल्याक्टोजेन, सिमिल्याक, फ्यारेक्स खुवाउनुपर्छ । दुई वर्षपछि मात्र जनावरको दुध खुवाउन मिल्छ । 

० अन्तिममा भन्नुपर्ने केही छन् कि ?

मैले भन्नुपर्ने भनेको बच्चाहरुलाई खानपिनमा विशेष ध्यान दिनुपर्छ । अहिले घरमा बनेको खानेकुरा भन्दा पनि जंकफुड खान पाएको खण्डमा बच्चाहरु खुसी हुन्छन्, तर त्यसले बच्चाको शरीरलाई असर गरिरहेको हुन्छ । त्यसैले जंकफुडभन्दा पनि घरमै बनाएको स्वस्थवद्र्धक खानेकुराहरु खुवाउनुपर्छ । त्यस्तै, मौशम अनुसारको फलफुल बच्चाको लागि आवश्यक छ । सोही अनुसार बच्चालाई फलफुल खुवाउने गर्नुपर्छ । बजारमा किनेर खुवाउने खानेकुराहरुका कारण बच्चाको पेटमा समस्या आउने, स्मरणशक्ति ह्रास हुने, शरीरको आवश्यकता अनुसार वृद्धि विकास नहुने, बच्चा रोगी बन्ने जस्ता समस्याहरु आउने गर्छ ।


सम्बन्धित समाचार