११ वर्षपछि एमाले बैठकमा वरिष्ठ नेता बनेर सहभागी हुँदै विद्या भण्डारी

1.3k Shares

काठमाडौं । ११ वर्षपछि एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता बनेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने भएकी छिन् । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी गराएका छन्।
यही असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो। उनलाई ‘दोस्रो वरीयता’ दिइएको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पूर्वराष्ट्रपति भण्डारी पार्टीको वरिष्ठ नेता मनोनयन भएकी हुन्। यसअघि २०८२ साउनमा बसेको केन्द्रीय कमिटी बैठकमा भने ओलीकै प्रस्तावमा भण्डारीको पार्टी सदस्यता खारेज गरिएको थियो। 
त्यही केन्द्रीय कमिटीको बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको थियो। त्यसपछि आज एमाले स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको हो। 

सम्बन्धित समाचार