रौतहट । गौर नगरपालिका–४ टिकुलियास्थित एक घरबाट ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल स्पेयर पाट्र्स बरामद भएपछि रौतहटको सीमावर्ती क्षेत्रमा हुँदै आएको भनिएको चोरी–तस्करी र त्यसलाई नियन्त्रण गर्ने जिम्मेवार सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट प्राप्त विशेष सूचनाका आधारमा नं. ११ गण हेडक्वार्टर रौतहटले गौरस्थित भोला साहको घरमा छापा मारेको थियो। गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको नेतृत्वमा ४५ जना सुरक्षाकर्मी तथा गौर भन्सार कार्यालयका प्रतिनिधिसहितको टोलीले गरेको खानतलासीका क्रममा लुकाइछिपाइ राखिएको मोबाइलसँग सम्बन्धित विभिन्न सामग्री बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामग्रीको अनुमानित मूल्य ५० लाख १४ हजार ५०० रुपैयाँ रहेको जनाइएको छ। घटनामा तीन थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको र बरामद सामग्री तथा सवारीसाधन आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। सीमाबाट चोरी–तस्करी गरेर भित्रिएको भनिएको सामान गौरसम्म कसरी आइपुग्यो ? नियमित सीमा निगरानीका क्रममा किन फेला परेन ? र यदि तस्करीको सञ्जाल सक्रिय थियो भने त्यसलाई नियन्त्रण गर्ने सुरक्षा संयन्त्र कहाँ थियो ? यी प्रश्न अहिले महत्वपूर्ण बनेका छन्।
बरामद मोबाइल स्पेयर पाट्र्स रौतहटका विभिन्न सीमावर्ती नाकाबाट चोरी–तस्करीमार्फत नेपाल भित्र्याइएको छ। गौर , रामपुरखाप, औरैया, बंकुल, बेलबिछुवालगायतका नाकाको नामसमेत यस प्रकरणमा जोडिएको छ।तर कुन नाकाबाट कति सामान भित्रियो, कहिले भित्रियो र त्यसमा को–को संलग्न थिए भन्ने विषय अहिलेसम्म सार्वजनिक भएको छैन।
सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ। त्यसैले एउटै क्षेत्रमा लामो समयदेखि अवैध कारोबार भइरहेको दाबी छ । सुरक्षा निकायका केही कर्मचारीले कारोबारीसँग मिलेर सामान भित्र्याउने गरेको आरोपसमेत उठेको छ। यसले सीमा सुरक्षा संयन्त्रभित्रैबाट राजस्व चुहावटलाई संरक्षण भएको हो कि होइन भन्ने गम्भीर प्रश्न खडा गर्नेछ।
गौर भन्सार क्षेत्रमा सशस्त्र प्रहरीको प्रस्तावित गुल्म रहेको र त्यसअन्तर्गत विभिन्न सीमावर्ती युनिटहरू परिचालित हुने भएकाले ती युनिटको परिचालन, सूचना संयन्त्र र निगरानी प्रणालीसमेत अनुसन्धानको विषय बन्न सक्छ। डीएसपी दुर्गाप्रसाद भट्ट तथा असई महमद मुस्ताफ अलीको भूमिकासम्बन्धी गम्भीर प्रश्न खडा गरेको छ । बेलबिछुवा र गौर नाकाबाट चोरी तस्करी गरि भित्रिएको खुलेको छ , तस्करी गर्ने गिरोहले यी तिनै ठाउँका सशस्त्र प्रहरी बलका निरीक्षक र डिएसपी सम्मलाई मिलाएर सेटिङमा भित्राएको समेत थाहा भएको छ , गौर भन्सारमा सशस्त्र प्रहरी बलको प्रस्तावित गुल्म नै रहेको छ , गुल्मको प्रमुखमा डिएसपी दुर्गाप्रसाद भट्ट रहेका छन् , औरहौ , रामपुरखाप , बंकुल , बेलबिछुवा पनि उनकै मातहतका युनिटहरू हुन , डिएसपी भट्टले परिचालन गरेका हुन या उनको नाम फजाउंदै गौर स्थित गुल्मबाट असई महमद मुस्ताफ अलि कारोवारीहरूसंग भेटघाट गर्ने गरेको समेत खुलेको छ , अलि सिपाही हुदा देखि नै लामो समयदेखि पर्साका विभिन्न युनिटहरूमा सिभिलमा परिचालित भएका बिबादास्पद व्यक्ति हुन , उनी अहिले गौर स्थित गुल्मबाट परिचालित छन् , अनि कसरी सीमावर्ती क्षेत्रको चोरी तस्करी नियन्त्रण हुन्छ।
घटनासँग जोडिएको व्यक्तिलाई ‘रास्वपाका स्थानीय नेता’ भनेर प्रस्तुत गरिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाउँदै भोला साह पार्टीको कुनै आधिकारिक कमिटीका सदस्य, पदाधिकारी वा प्रतिनिधि नरहेको स्पष्ट पारेको छ। पार्टीले उनलाई पार्टीको आधिकारिक नेता भनेर उल्लेख नगर्नसमेत आग्रह गरेको छ।
५० लाखभन्दा बढी मूल्यको मोबाइल पाट्र्स बरामद हुनु आफैंमा अनुसन्धानका लागि पर्याप्त विषय हो। तर बरामदगीपछि सामान भन्सारमा बुझाएर प्रक्रिया समाप्त गर्नु मात्र पर्याप्त देखिँदैन।अनुसन्धानले सामान कहाँबाट आयो, कसले ल्यायो, कसको आदेशमा वा कुन माध्यमबाट सीमा पार भयो, कसलाई बिक्री गर्ने तयारी थियो र यसअघि पनि यस्तै कारोबार भएको थियो कि थिएन भन्ने प्रश्नको उत्तर खोज्नुपर्नेछ।त्यससँगै सम्बन्धित सीमा नाकामा खटिएका सुरक्षाकर्मीको ड्युटी अभिलेख, गस्ती विवरण, सूचना संकलन प्रणाली र सम्भावित कारोबारीसँगको सम्पर्कसमेत परीक्षण गर्नुपर्ने देखिन्छ।किनकि तस्करीको सामान घरबाट बरामद हुनु एउटा उपलब्धि हो; तर त्यो सामान सीमा पार गराउने सञ्जालसम्म पुग्नु र त्यसलाई संरक्षण गर्ने कुनै संयन्त्र भए त्यसको पर्दाफास गर्नु नै वास्तविक अनुसन्धानको सफलता हुनेछ।