बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

732 Shares

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई विद्युत् सेवामा तत्काल राहत दिने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्का बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत् सेवामा सहुलियत दिन लागिएको बताएका छन् । मन्त्रीको निजी सचिवालयका अनुसार राहतसम्बन्धी आवश्यक निर्णय अघि बढाइएको हो।

मन्त्री श्रेष्ठका अनुसार ‘छिमेकीलाई हाम्रो साथ’ भन्ने भावनाअनुसार अन्य ग्राहकबाट संकलित विद्युत् महसुलबाट समेत प्रभावित परिवारलाई राहत पुग्ने गरी व्यवस्था गर्न लागिएको छ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेका ग्राहकको हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत् महसुल बिलिङ नगर्ने निर्णय गरेको छ। त्यस्तै, बाढीबाट क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योगलगायतका संरचनामा जडान भएका विद्युत् मिटरको लगत कट्टा गरिने भएको छ।

मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः विद्युत् सेवा लिन नयाँ मिटर माग गरेमा प्राधिकरणले निःशुल्क मिटर उपलब्ध गराउने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

यसैगरी, बाढी प्रभावित क्षेत्रका ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत वा छुट दिने विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको छ। बाढीबाट प्रभावित १५ पालिकामा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनको क्रममा रहेकाले प्रभावित ग्राहकलाई कति सहुलियत वा छुट दिन सकिन्छ भन्नेबारे अध्ययन गरी प्रस्ताव पेस गर्न निर्देशन दिइएको हो।

प्राधिकरणले उक्त अध्ययनका आधारमा यसै साता बाढी प्रभावित ग्राहकलाई विद्युत् महसुलमा उपलब्ध गराइने थप सहुलियत तथा छुटको टुङ्गो लगाउने तयारी गरेको छ।

बाढीका कारण विद्युत् पूर्वाधारसँगै घर, उद्योग, व्यवसाय तथा अन्य संरचनामा क्षति पुगेका नागरिकलाई विद्युत् सेवासँग सम्बन्धित तत्कालीन आर्थिक भार कम गर्न राहत तथा सहजीकरणका उपाय अघि बढाइएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार