माइतीघरमा पत्रकारको मौन प्रदर्शन

964 Shares

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा मौन प्रदर्शन गरेका छन् ।

सरकारले सञ्चार गृहभित्रै प्रवेश गरेर पत्रकारमा भय र त्रासको वातावरण सिर्जना गरेको तथा स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष हस्तक्षेप गरेको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने गतिविधिको विरोध गर्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि धर्ना दिइएको महासंघले जनाएको छ ।

प्रदर्शनका क्रममा महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारमाथि भएको धरपकडको निष्पक्ष छानबिन गर्न माग गरे। उनले सञ्चारमाध्यमको समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने कार्यप्रति आपत्ति जनाउँदै यसलाई राज्यबाटै सिर्जित अपराधको संज्ञा दिए।

उनले उक्त घटना प्रधानमन्त्रीको आदेशमा भएको भए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर कदम चाल्नुपर्ने धारणा पनि राखे।

महासंघले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको सुरक्षाको प्रत्याभूति र सञ्चारमाध्यममाथि हुने हस्तक्षेप रोक्न सरकारसँग माग गरेको छ ।

सम्बन्धित समाचार