सरकारले अहंकार र धम्कीपूर्ण राजनीति त्याग्नुपर्छ ः कांग्रेस सचेतक राई

790 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अहङ्कारी र धम्कीपूर्ण राजनीति त्याग्न चेतावनी दिएका छन् ।
सचेतक राईले विपद् व्यवस्थापनमा सरकार पूर्णतया असफल भएको जिकिर गर्दै सत्ताको अहङ्कार देखाएर नागरिकलाई डर देखाउने, आलोचकलाई शत्रु ठान्ने प्रवृत्ति लोकतन्त्र हुन नसक्ने बताए ।
उनले भदौ २३ र २४ गतेका घटना, मानव अधिकार उल्लङ्घन र कारागारबाट कैदीबन्दी फरार भएको विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै उच्चस्तरीय संसदीय समिति गठनमा ढिलाइ भइरहेकोमा प्रश्न उठाए ।
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अहङ्कारी र धम्कीपूर्ण राजनीति त्याग्न चेतावनी दिएका छन् । 
प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सचेतक राईले विपत्तिको घडीमा सरकारले नागरिकलाई सरकार छ भन्ने अनुभूति गराउन नसकेको भन्दै सरकारको आलोचना गरे।
सचेतक राईले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीले मुलुकलाई प्रलयकारी विपत्तिमा पारेको उल्लेख गर्दै प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाए। 
उनले भने, ‘विपद्को प्रारम्भिक दिनमा न प्रधानमन्त्रीको संसद्मा उपस्थिति देखियो, न त चासो सुन्ने धैर्यता नै। उल्टो सरकार पीडित नागरिकको काँधमा चढेर विपत्तिको तमासा हेर्न खोजिरहेको अनुभूति भयो।’ उनले विपद् व्यवस्थापनमा सरकार पूर्णतया असफल भएको जिकिर गरे।
सरकारले सत्ताको अहङ्कार देखाएको आरोप लगाउँदै राईले भने,  ‘सत्तामा बसेर नागरिकलाई डर देखाउने, आलोचकलाई शत्रु ठान्ने, प्रतिपक्षलाई बाधक र सञ्चारकर्मीलाई धम्की दिने प्रवृत्ति लोकतन्त्र हुन सक्दैन। जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन।’ उनले मन्त्रीहरूका अभिव्यक्ति र गृह प्रशासनको सञ्चालन शैलीमाथि समेत कडा प्रश्न उठाए।
भदौ २३ र २४ गतेका घटना, मानव अधिकार उल्लङ्घन र कारागारबाट कैदीबन्दी फरार भएको विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै राईले भने, ‘सत्तारूढ दलका सभापतिले संसद्मै प्रतिबद्धता जनाए पनि उच्चस्तरीय संसदीय समिति गठन गर्न किन ढिलाइ भइरहेको छ रु यदि केही लुकाउनु छैन भने संसद्को निगरानीबाट सरकार किन भाग्छ ?’
राजनीतिलाई थुक्ने अभिव्यक्ति दिनेहरू अहिले राजनीति सिकाउन आएको भन्दै दम्भ देखाएको भन्दै राईले कटाक्ष गरे। ‘राजनीति सिकाउने पहिलो पाठ नागरिकको पीडामा संवेदनशील हुनु हो, संसद्को मर्यादा बुझ्नु हो। राजनीति फगत सामाजिक सञ्जालको स्ट्याटस होइन,’ उनले भने।
राजविराजकी बबिता पासवानको उपचार अभावमा भएको मृत्युको घटनाले राज्यको सार्वजनिक सेवाको दयनीय अवस्था छर्लङ्ग पारेको भन्दै उनले प्रधानमन्त्रीको पैसा अभावमा कोही पनि उपचारबाट वञ्चित हुनुपर्दैन भन्ने अभिव्यक्तिप्रति तिखो व्यङ्ग्य गरे। उनले भने, ‘प्रधानमन्त्रीज्यू, यो घटना कस्तो लागिरहेछ ? मौनताले मलाई आफैँप्रति लज्जा अनुभूति भइरहेछ।’
सचेतक राईले सरकारलाई अहङ्कार त्यागेर संवाद गर्न, धम्कीको साटो जिम्मेवार बन्न र प्रचारमुखी कार्यभन्दा नतिजामुखी परिणाम दिन चेतावनीपूर्ण आग्रह गरेका छन्।

सम्बन्धित समाचार