काठमाडौं । इरानले अमेरिकाको एक सैन्य मानवरहित पनडुब्बी ९सबमरीन० कब्जामा लिएको दाबी गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त पनडुब्बीको ‘रिभर्स इन्जिनियरिङ’ हुन सक्ने जोखिम रहेको विशेषज्ञहरूले बताएका छन् ।
रोयटर्सको रिपोर्टमा उद्धृत विशेषज्ञहरूका अनुसार इरानले कब्जामा लिएको उक्त पनडुब्बीलाई आफ्नो सैन्य कार्यक्रमका लागि प्रयोग गर्न सक्ने सम्भावना छ ।
इरानले सन् २०११ मा कब्जामा लिएको अमेरिकी आरक्यू–१७० स्टिल्थ ड्रोनमा पनि यस्तै गरेको दाबी गरेको थियो । कब्जामा लिइएको भनिएको पनडुब्बीको नाम डाइभ–एलडी हो । यो मानवरहित पानीमुनि सञ्चालन हुने उपकरण हो ।
यसले लामो दूरीसम्म निगरानी गर्न, समुद्रको सतह तथा समुद्री तलको नक्साङ्कन गर्न, समुद्रमा बिछ्याइएका माइन्स पत्ता लगाउन र तिनलाई निष्क्रिय पार्न सक्ने क्षमता राख्छ ।
डाइभ–एलडी मानिसको प्रत्यक्ष सहयोगबिना लगातार केही दिनसम्म सञ्चालन हुन सक्ने बताइएको छ ।
यसअघि सन् २०११ मा इरानले अमेरिकाको आरक्यू–१७० स्टिल्थ ड्रोन कब्जामा लिएको थियो । त्यसपछि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले उक्त ड्रोन फिर्ता गर्न तेहरानसँग माग गरेका थिए ।
तर, पछि इरानले अमेरिकी ड्रोनको ‘रिभर्स इन्जिनियरिङ’ गरेको र त्यसको डिजाइनका आधारमा आफ्नै ड्रोन निर्माण गरेको दाबी गरेको थियो ।
रोयटर्सको रिपोर्टअनुसार अमेरिकाले पछिल्लो मानवरहित पनडुब्बी कब्जाको घटनालाई भने ठूलो मुद्दाका रूपमा प्रस्तुत गर्न नचाहेको देखिएको छ ।