काठमाडौं । लोकप्रिय गायक मोतिराज खनाल, बैकुण्ठ महत र रेखा पोख्रेलको स्वरमा सजिएको नयाँ तीजगीत ‘कम्मरु भाँचम्ला’ लोकप्रिय कार्यक्रम ‘इन्द्रेणी’मा भव्य रूपमा विमोचन गरिएको छ।
श्रावण २५ गते गायक मोतिराज खनालको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम केसी प्रमुख अतिथिका रूपमा उपस्थित भई गीतको औपचारिक विमोचन गर्नुभएको हो। कार्यक्रमको उद्घोषण समाजसेवी तथा अभियन्ता विशाल मिश्रले गर्नुभएको थियो।
कार्यक्रममा वरिष्ठ कलाकार पार्वती अधिकारी, ‘इन्द्रेणी’का अध्यक्ष तथा सञ्चालक कृष्ण कँडेल, ऋषिराम भुसाललगायत कलाकार, सञ्चारकर्मी, शुभेच्छुक तथा आफन्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो।
तीजको मौलिक संस्कृति, चेलीबेटीको सामूहिक नाचगान र पर्वको उत्साहलाई केन्द्रमा राखिएको ‘कम्मरु भाँचम्ला’मा मोतिराज खनालकै संगीत तथा किरण पन्थी र मोतिराज खनालको शब्द रहेको छ। लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको गीतमा कृष्ण बाजुरालीको रेकर्डिङ तथा मिक्सिङ रहेको छ।
गीतको भिडियोमा भुवन के. पोख्रेल, जुना कार्की, भगवान् भण्डारी, रेणुका बराललगायत कलाकारको अभिनय रहेको छ। शिवजी क्षेत्रीको निर्देशन तथा नृत्य निर्देशनमा तयार भएको भिडियोमा विभिन्न जिल्लाका चेलीहरूको सामूहिक सहभागिताले तीजको मौलिक रंग थपेको छ।
पछिल्लो समय तीजगीतमा मौलिकता हराउँदै गएको चर्चा भइरहेका बेला संस्कृति र मनोरञ्जनलाई सन्तुलित रूपमा प्रस्तुत गर्ने प्रयासस्वरूप ‘कम्मरु भाँचम्ला’ सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।
गीत सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। निर्माण पक्षले देश तथा विदेशमा रहेका सम्पूर्ण दर्शक–श्रोतामाझ गीत हेरेर माया, साथ र प्रतिक्रिया दिन आग्रह गरेको छ।