काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका गायक तथा मोडल दुर्गेश थापामाथि फेरि त्यही नियति दोहोरिएको छ ।
नायिका प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’को हाइप बढाउन गिफ्टको फन्डा रचिएको गीत ‘ओइ मास्टर्नी’का कारण दुर्गेश बहिष्कारमा परेका हुन् ।
उक्त ‘डर्टी ट्रयाक’मा अश्लीलता र यौनसँग सम्बन्धित सुनिने शब्दहरू नियतवश राखिएको छ । ‘क, ख होइन अ, आ’ र ‘म्याथ सिक्ने भए…’ जस्ता द्विअर्थी शब्द गीतमा राखिएको छ ।
गीतको भिडियोमा मास्टर्नीलाई ‘आइटम गर्ल’को तहमा उतारिएको छ । यो विषयमा नेपाल शिक्षक महासंघले आपत्ति जनाइसकेको छ ।तनहुँका एकजना शिक्षक रमेशबहादुर भट्टराईले गीतमाथि प्रतिबन्ध लगाउन मागसहित सञ्चारमन्त्रालयमा निवेदन नै हालेका छन् ।
‘अमयार्दित र भाव संयोजन गरिएकाले त्यो गीतले शिक्षक र शिक्षण पेशाको गरिमामाथि भम्भीर प्रश्न उठाएको छ,’ महासंघले भनेको छ।
शिक्षकहरूले यो गीत र फिल्म बहिष्कार गर्नेसमेत चेतावनी दिएका छन् ।
बहिष्कारमा परेर दुई वर्षजति अन्डरग्राउन्डकै तहमा बसेका दुर्गेश गत वर्षबाट गीत गाउँदै कलकर्ममा फर्किएका थिए । नाबालिग गायिका बलात्कार प्रकरणमा जोडिँदा बहिष्कारमा परेर तय भएको कन्सर्टबाट पनि उनलाई ड्रप गरिएको थियो ।
यसरी विवादमा आउँदाको नराम्रो परिणाम दुर्गेशले केही समयमै बिर्सिएका छन् । पेशाकेन्द्रित पात्रहरूकाबारे गीत गाउँदा उनले बौद्धिक पाटोबाट सोच्ने सकेनन् । अर्थात्, भ्युजका लागि दुर्गेशले भाइरल बन्ने ‘चिप’ शब्द खोज्दा शिक्षक संघले बहिष्कार नै गर्यो ।
सस्तो लोकप्रियता र भ्युका लागि ‘चिप’ हर्कत गर्ने कलाकारहरूको चरित्रले फिल्म क्षेत्र अहिले बदनाम छ । यो गीत, प्रियंका र दुर्गेश त्यसैको निरन्तरता दिँदा गम्भीर विवादमा परेका छन् ।