रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्षासँगैको बाढीपहिरो पीडितलाई सरकारले राहत उपलब्ध नगराएको भन्दै आक्रोश पोखेका छन् । उनले सरकार ‘नालायक’ भएको टिप्पणी समेत गरे ।
महापर्व दसैँ, दीपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको फतुवाबिजयपुर नगरपालिकाको बैरगनियामा सोमबार पार्टीद्वारा आयोजित भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा सहभागी साहले बाढीपहिरोबाट पीडितको उद्धारमा सरकारले ढिलाइ गरेकाले अमूल्य जनधनको ठुलो क्षति भएको बताए ।
‘सरकारले समयमै पीडितको उद्धार गरेको भए सयौँ मान्छेको मृत्यु हुँदैन्थ्यो । अर्बौँको क्षति हुँदैन्थ्यो । उद्धारका लागि छटपटाइरहेका पीडितहरू अहिले राहतका लागि पर्खिरहेका छन् । तर पीडितको उद्धारमा असफल र असक्षम रहेको सरकार कता छ, खोज्नुपर्ने अवस्था छ’ साहले भने, ‘किसानले लगाएको बाली घर भित्र्याउने बेलामा बाढीले क्षति भएको छ । सर्वसाधारण किसान बिहान बेलुका के खाने, कहाँ बस्ने ठेगान छैन । तर सरकार अतिरिक्त तलब लिएर खसी काटेर दसैँको भोजमा रमाइरहेको छ । सर्वसाधारणको बारेमा सोच्ने, बोल्ने, राहत दिने उनीहरूलाई फुर्सत नै छैन।’