१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

500 Shares

काठमाण्डौ - सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनमा त्रुटिवश बालबालिकाको विवरण समावेश भएको स्पष्टीकरण दिएको छ । चितवनमा भएको पहिलो महाधिवेशनबाट महामन्त्री निर्वाचित विपिनकुमार आचार्यले विज्ञप्ति निकालेर पार्टीबाट त्रुटि भएको जनाउनुभएको हो । रास्वपाको प्रथम महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनको तथ्याङ्कलाई उद्धृत गर्दै १८ वर्षभन्दा कम उमेरका ३५ हजार २ सय ५७ व्यक्ति पार्टीको सदस्य रहेको भनी केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपा संविधान, राजनीतिक दलसम्बन्धी ऐन, प्रचलित कानुन तथा नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट स्थापित बाल अधिकार तथा बालबालिकालाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने मान्यताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा भनिएको छ । डिजिटल सदस्यता प्रणालीमा ‘आवेदन’ दिएका तर ‘अन्तिम स्वीकृति’ नपाएका प्रारम्भिक विवरणलाई महाधिवेशनमा कच्चा तथ्याङ्कका रूपमा प्रस्तुत गरिएको रास्वपाले जनाएको छ ।

सदस्यताका लागि अनलाइनबाट जोसुकैले आवेदन दिन सक्ने खुला व्यवस्था भएकाले आवेदन फारम भर्ने क्रममा टाइपोग्राफिकल त्रुटि, पात्रो प्रणालीको गलत छनोट वा अन्य प्राविधिक कारणले उमेर विवरणमा फरक परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको विज्ञप्तिमा उल्लेख छ । रास्वपाले यस विषयलाई गम्भीरतापूर्वक लिँदै आउँदा दिनमा यस्ता त्रुटि दोहोरिन नदिन प्राविधिक नियन्त्रण लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

हालको सदस्यता प्रणालीको पुनरावलोकन गर्दै १८ वर्षमुनिका विवरण स्वतः अस्वीकृत हुने प्रणाली विकास गर्ने र प्रमाणीकरण भइसकेका विवरणहरूको पुनः परीक्षण गर्ने रास्वपाले जनाएको छ । १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले पत्र काटेपछि रास्वपाको स्पष्टीकरण आएको हो ।

आयोगले सोमबार लेखेको पत्रमा १८ वर्षमुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको छ ।

सम्बन्धित समाचार