रास्वपा महाधिवेशन : पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदानको तयारी

558 Shares

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान शुरू हुँदैछ । चितवनको भरतपुरमा चलिरहेको महाधिवेशनमा ९९ केन्द्रीय सदस्यका लागि झन्डै ४०० जनाको उम्मेदवारी परेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

दाबी विरोध र उम्मेदवारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अन्तिम सूची प्रकाशित हुनेछ । उम्मेदवारको विवरण रुजु गरेर विद्युतीय भोटिङ मेशिनमा प्रविष्ट गर्ने काम गरिनेछ । मतदानका लागि ८० वटा विद्युतीय उपकरण तयारी अवस्थामा छन् । विभिन्न ‘क्लस्टर’ बाट पनि उम्मेदवार कायम भएकाले मतदानमा थप समय लाग्ने देखिन्छ ।

मतदान पूरा भएको २ घण्टाभित्र नतिजा सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो । विदेशमा रहेका प्रतिनिधिले मोबाइलमार्फत मतदान गर्नेछन् । महाधिवेशन प्रतिनिधि ४ हजार जनाभन्दा धेरै छन् ।

पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध हुनुभएको छ । आजै राति अबेरसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको चुनाव सम्पन्न गरेर दोस्रो चरणमा पदाधिकारीको चुनाव गर्ने तयारी गरेकाे महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो ।

दोस्रो चरणमा १ उपसभापति, २ महामन्त्री र ३ सहमहामन्त्री गरी ६ जनाको चुनाव हुनेछ ।

यसैबीच रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएका पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज काठमाण्डौ फर्किनुभएको छ । रास्वपाको प्रथम महाधिवेशन गएको आइतवारदेखि शुरू भएको हो । हिजो नै सकिनुपर्ने कार्यतालिका भए पनि महाधिवेशन लम्बिएको छ ।

सम्बन्धित समाचार