काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारका प्रस्तावक र समर्थक बसेकाहरू कुनै पनि पदमा उम्मेदवार हुन नपाउने भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सूचनामार्फत उम्मेदवारको प्रस्तावक र समर्थक बस्नेहरू आफैँ उम्मेदवार बन्न नपाउने जानकारी गराउनुभएको छ ।
सभापति पदका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्छ । त्यस्तै पदाधिकारी र केन्द्रीय सदस्यका हकमा उम्मेदवारले समान २१ जना समर्थक र १ जना प्रस्तावक जुटाउनुपर्छ ।
महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको बन्दसत्र अहिले दिउँसाे १ बजेदेखि शुरू हुँदैछ । पार्टीका महामन्त्री कर्विन्द्र बुर्लाकोटी र भूपदेव शाहले निर्वाचन केन्द्रीय समिति तथा असन्तुष्ट पक्षसँग छलफल गरेर विवाद टुङ्गोमा पुर्याउनुभएको छ ।
महाधिवेशन प्रतिनिधिको विवाद समाधान भएपछि बन्दसत्रमा सहभागी हुनेको सङ्ख्या झन्डै ४ हजार पुग्ने अनुमान छ ।
यस्तै रास्वपाकाे बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम शुरू भएको छ । परिचयपत्र वितरणको काम छिटो सक्ने उद्देश्यले ९ ठाउँबाट शुरू भएको पार्टीले जनाएको छ ।