विश्वकप फुटबलमा स्पेनको शानदार पुनरागमन, इरान र बेल्जियम गोलरहित बराबरीमा

11.7k Shares

फिफा विश्वकप फुटबलअन्तर्गत समूह चरणका खेलमा इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा सकिएकोे छ । गएराति खेलको २४ औँ मिनेटमा इरानका मेहदी तोरेबीले बललाई जाली चुमाए पनि भिडियो सहायक निर्णायकको परीक्षणपछि अफसाइड ठहर हुँदा गोलले मान्यता पाएन ।

त्यसपछि बेल्जियमले लगातार प्रहार गरे पनि इरानी गोलरक्षक अलिरेजा बेरानभान्दले उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाए । बेल्जियमका नाथान एनगोये रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

यस्तै गएराति नै भएको अर्को खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० को जित दर्ता गरेको छ । जारी विश्वकपमा यो स्पेनको पहिलो जित हो । पहिलो खेलमा केब भार्डेसँग बराबरी खेलेको स्पेनले यस जितसँगै चार अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

स्पेनका लागि १० औँ मिनेटमा लामिन यामालले पहिलो गोल गरे । त्यसपछि २१औँ र २३औँ मिनेटमा मिकेल ओयारजाबालले लगातार दुई गोल थप्दै टोलीलाई ३–० को सहज अग्रता दिलाए ।

दोस्रो हाफमा साउदी अरेबियाका हसन अल–तम्कदीबाट आत्मघाती गोल भएपछि स्पेनको अग्रता ४–० पुग्यो । खेलको अन्त्यतिर फेरान टोरेसले गोल गरेपनि अफसाइडका कारण त्यसले मान्यता पाएन ।

विश्वकप फुटबलमा आज बिहान पौने ७ बजे क्यानडाको भ्यानकुभरको बहुउद्देश्यीय रङ्गशालामा न्यूजिल्यान्ड र इजिप्टले खेल्दैछन् । दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन् ।

सम्बन्धित समाचार