‘डलर ठगीका आरोपितले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाएर नियन्त्रणमा लियौँ’

732 Shares

काठमाडौं– डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा काठमाडौंको गोकर्णबाट पक्राउ परेका व्यक्तिविरुद्ध विगतमा आठ पटकसम्म कानूनी कारबाही भइसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका सुजन तामाङविरुद्ध विगतमा आठ पटकसम्म कानूनी कारबाही भइसकेको प्रहरीले जनाएको छ । 

तामाङलाई प्रहरीले बिहीबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा प्रहरीमाथि चक्कु प्रहार गरेर भाग्न खोज्दा गोली हानेर नियन्त्रणमा लिएको थियो । 

बिहीबार साँझ पौने ७ बजेतिर डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण गर्दा एक जना प्रहरी घाइते भएका थिए । 

चक्कु प्रहारपछि चेतावनी स्वरुप पेस्तोलबाट १ राउण्ड गोली हवाई फायर गर्दा समेत नियन्त्रणमा नआएपछि घुँडा मुनी १ राउण्ड गोली फायर गरि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेले जानकारी दिए । डलर सटही गर्न गएका व्यक्तिहरुलाई लुटपाट गरि फरार हुने गरेको उनले बताए । 

पक्राउ परेका व्यक्तिबाट ठगीमा प्रयोग हुने २० को २ वन्डल नेपाली रुपैया, डलरमा जस्तै आधारमा काटेर राखेको सेतो कागजको बण्डल, उक्त कागजको बण्डलमा तल र माथि ५–५ को अमेरिकन डलर राखेको र १ केसी नक्कली सुनको ढिक्का बरामद गरिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार