भैरहवा । भारतसँग खुला सीमा जोडिएको रूपन्देही जिल्लामा अवैध तस्करी नियन्त्रणभन्दा बाहिर गएको गम्भीर आरोपहरू सार्वजनिक भएका छन्। सीमावर्ती क्षेत्रका विभिन्न नाकाबाट दैनिक रूपमा कपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक्स, कस्मेटिक लगायतका सामान अवैध रूपमा नेपाल भित्रिने क्रम बढ्दै गएको छ। स्थानीय व्यवसायी, सीमावर्ती बासिन्दा तथा सुरक्षा स्रोतहरूले तस्करीमा संगठित गिरोह सक्रिय रहेको र केही सुरक्षाकर्मीको संरक्षण तथा मिलेमतोमै यस्तो धन्दा सञ्चालन भइरहेको दाबी गरेका छन्।
मुख्य भन्सार नाकाहरूमा निगरानी कडा बनाइए पनि खुला सीमा र भित्री बाटोहरूको प्रयोग गरेर तस्करहरूले अवैध कारोबारलाई निरन्तरता दिएका छन्। विशेष गरी रूपन्देहीका बुची, बोधवार, पिप्रहवा, मनहरापुर, भगवानपुर लगायतका भित्री नाकाहरू अहिले तस्करीका प्रमुख मार्गका रूपमा प्रयोग भइरहेको आरोप छ।
स्थानीय स्रोतका अनुसार भारतबाट कपडा, हार्डवेयर, खाद्यान्न, कस्मेटिक तथा दैनिक उपभोग्य सामग्री ठूलो मात्रामा चोरी पैठारी गरी नेपाल भित्र्याइँदै आएको छ। सीमाक्षेत्रमा सक्रिय तस्कर समूहहरूले सुरक्षाकर्मीहरूसँग ‘लाइन मिलाएर’ काम गर्ने गरेको आरोप व्यवसायीहरूबाटै उठिरहेको छ।स्रोतहरूका अनुसार सीमाक्षेत्रमा सक्रिय केही व्यक्तिहरूले वर्षौंदेखि तस्करीको नेटवर्क सञ्चालन गर्दै आएका छन्। तस्करी गर्ने समूहले सामानको परिमाण र नाकाअनुसार सुरक्षाकर्मीलाई नियमित रकम बुझाउने गरेको आरोप समेत लगाइएको छ।विशेषगरी मनहरापुर क्षेत्रका सुरक्षाकर्मी नेतृत्वमाथि अवैध असुलीमा संलग्न रहेको आरोप स्थानीय तहसम्म चर्चाको विषय बनेको छ। सीमाबाट हुने अवैध ओसारपसारमा सक्रिय विभिन्न समूहहरूले सुरक्षाकर्मी र तस्करबीचको समन्वयकै कारण कारोबार सहज रूपमा सञ्चालन भइरहेको दाबी गर्दै आएका छन्।
पछिल्ला महिनाहरूमा रूपन्देही हुँदै चामल, चिनी, मटर, प्याज, कपडा लगायतका सामग्रीको तस्करी उल्लेख्य रूपमा बढेको सुरक्षा निकायको बरामद तथ्यांकले देखाएको छ। यसबाहेक हार्डवेयर, मेसिनरी पार्टपुर्जा, इलेक्ट्रिकल सामग्री तथा अन्य उपभोग्य वस्तुहरू पनि विभिन्न भित्री नाकाबाट भित्रिने गरेको तथ्य बाहिर आएको छ।सीमा नजिक रहेका केही गल्ला भण्डारहरूले भारतबाट अवैध रूपमा धान, गहुँ तथा चामल भित्र्याएर नेपाली उत्पादनका रूपमा बिक्री वितरण गर्ने गरेको आरोप समेत स्थानीय स्तरमा सुनिने गरेको छ।
यति धेरै सामान बरामद हुने तर तस्करी भने नरोकिइरहनुले अवैध कारोबारमा शक्तिशाली समूहको संलग्नता रहेको आशंका झन् बलियो बनेको जानकारहरू बताउँछन्।स्थानीय स्रोतहरूका अनुसार चनौली बगाहा, बेलहिया, मैनीहवा र मेउडिहवा लगायतका नाकाबाट भित्रिने अधिकांश सामान अन्ततः भैरहवा बसपार्क क्षेत्रसम्म आइपुग्ने गरेको छ।बसपार्क क्षेत्रलाई लामो समयदेखि तस्करीका सामान संकलन, भण्डारण तथा पुनः वितरण गर्ने केन्द्रका रूपमा प्रयोग गरिएको आरोप छ। सीमाक्षेत्रबाट ल्याइएका सामानहरू यही क्षेत्र हुँदै जिल्लाभित्र तथा बाहिरी बजारसम्म पुग्ने गरेको बताइन्छ।स्थानीय व्यवसायीहरू भन्छन्, “सामान्य नागरिकले व्यक्तिगत प्रयोजनका लागि ल्याएको सामानमा कडाइ हुन्छ, तर संगठित तस्करी भने रोकिएको देखिँदैन।”
लुम्बिनी नाका हुँदै पनि कपडा तथा अन्य सामग्रीको तस्करी हुने गरेको आरोप स्थानीय व्यवसायीहरूले लगाएका छन्। केही व्यापारीले सुरक्षाकर्मी र तस्करबीच साझेदारीको सम्बन्ध रहेको दाबी गर्दै आएका छन्।त्यसैगरी चाकर चौडाहा नाकाबाट खसीबोका, कपडा, हार्डवेयर तथा मोबाइल सेटहरूको ठूलो परिमाणमा अवैध कारोबार भइरहेको चर्चा छ। स्थानीय स्रोतहरूका अनुसार दैनिक रूपमा दर्जनौं बोरा कपडा तथा अन्य सामग्री भित्रिने क्रम जारी छ।यदि यी आरोपहरू सत्य साबित भएमा यसले सीमासुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा गर्नेछ।
रूपन्देही प्रहरीभित्र कार्यरत केही घुमुवा प्रहरीमाथि पनि विभिन्न आरोपहरू उठिरहेका छन्। जिल्ला प्रहरी कार्यालय स्रोतहरूका अनुसार केही प्रहरी कर्मचारी लामो समयदेखि जिल्लामा अनौपचारिक रूपमा परिचालित रहँदै आएका छन्।आलोचकहरूको दाबी छ कि यस्ता घुमुवा टोलीहरूको मुख्य सम्पर्क व्यापारी, ठेकेदार तथा सीमाक्षेत्रका कारोबारीहरूसँग हुने गरेको छ। उनीहरू नियमित प्रहरी कार्यालयभन्दा बाहिर बढी सक्रिय रहने गरेको आरोप पनि लगाइएको छ।यद्यपि यी आरोपहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामाथि समेत सेवाग्राहीबाट आर्थिक चलखेल हुने गरेको गुनासो आउने गरेको बताइन्छ। केही सेवाग्राहीहरूले आर्थिक प्रभावबिना काम नहुने अवस्था रहेको आरोप लगाएका छन्।मुद्दा शाखामा कार्यरत केही कर्मचारीविरुद्ध प्रदेश तथा केन्द्रीय तहसम्म उजुरी पुगेको चर्चा भए पनि हालसम्म प्रभावकारी कारबाही भएको सार्वजनिक जानकारी देखिँदैन।यसले प्रहरी संगठनभित्रको आन्तरिक अनुगमन प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
सीमाक्षेत्रका व्यापारी तथा स्थानीय स्रोतहरूबीच अहिले एउटा प्रश्न निकै चर्चामा छ—यदि यति ठूलो परिमाणमा तस्करी भइरहेको छ भने यसको जिम्मेवारी कसले लिने ?तस्करी, अवैध असुली र आर्थिक चलखेलका आरोपहरू बारम्बार उठिरहँदा प्रदेश प्रहरी कार्यालय तथा प्रहरी मुख्यालयबाट किन प्रभावकारी छानबिन हुन सकेको छैन भन्ने प्रश्न उठ्न थालेको छ।कतिपयले तस्करीको जालो स्थानीय तहमा मात्र सीमित नरही माथिल्लो संरचनासम्म पुगेको हुनसक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि यसको पुष्टि गर्ने आधिकारिक प्रमाण सार्वजनिक भएको छैन।
रूपन्देहीमा तस्करी, अवैध असुली, प्रहरी–तस्कर मिलेमतो तथा मुद्दा व्यवस्थापनमा आर्थिक चलखेलका आरोपहरू गम्भीर प्रकृतिका भएकाले सम्बन्धित निकायले निष्पक्ष र स्वतन्त्र छानबिन गर्नुपर्ने माग उठ्न थालेको छ।यदि आरोपहरू झुटा हुन् भने आरोपित अधिकारीहरूलाई सफाइ दिने र यदि सत्य हुन् भने संलग्न जो–कोहीमाथि कानुनी कारबाही गर्ने दायित्व राज्यको हो।खुला सीमाको फाइदा उठाउँदै संगठित रूपमा भइरहेको भनिएको तस्करी नियन्त्रण गर्न नसकिए राज्यको राजस्व, सुरक्षा प्रणाली र कानुनी शासनमाथि नै गम्भीर चुनौती थपिने निश्चित छ। अहिले रूपन्देहीमा उठिरहेको सबैभन्दा ठूलो प्रश्न यही हो—सीमामा तस्कर बलिया हुन् कि राज्यका संयन्त्र ?