भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग, एक साताभित्र १ करोड पुर्‍याउने तयारी

94 Shares

झापा ।  भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सञ्चालकले ७५ लाख ५३ हजार ९ सय ४७ रुपैयाँ जुटाएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको पहलमा सङ्कलित उक्त रकम प्याब्सन केन्द्रीय समितिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ।
प्याब्सन नेपालको आह्वानपछि झापामा आबद्ध १३९ विद्यालयमार्फत राहत रकम सङ्कलन गरिएको हो। विद्यालय सञ्चालकसँगै शिक्षक, विद्यार्थी र अभिभावकको सहभागितामा सङ्कलित रकम बिहीबार प्याब्सन झापाको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय समितिका प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो।
प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले केन्द्रीय सल्लाहकार नारायणप्रसाद घिमिरे, निवर्तमान केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, केन्द्रीय सदस्य श्रवण पोखरेल र कोशी प्रदेश उपाध्यक्ष इशुभ पाण्डेलाई रकम हस्तान्तरण गरे।
कार्कीका अनुसार केही विद्यालयले अझै सहयोग रकम उपलब्ध गराउन बाँकी छ। त्यसैले अभियानलाई निरन्तरता दिँदै एक साताभित्र थप रकम सङ्कलन गरेर सहयोग रकम १ करोड रुपैयाँ पुर्‍याउने तयारी गरिएको छ।
‘पहिलो चरणमा सङ्कलित रकम केन्द्रीय समितिको खातामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका छौं,’ कार्कीले भने, ‘केही विद्यालयले अझै रकम दिने प्रतिबद्धता जनाएका छन्। त्यसबाट थप रकम सङ्कलन गरी एक करोड रुपैयाँ पुर्‍याएर हस्तान्तरण गर्नेछौं।’
उनले विपद्का बेला निजी विद्यालय क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग जुटाएको बताए। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेकाले विद्यालय परिवारलाई अभियानमा जोडिएको उनको भनाइ छ।
रकम ग्रहण गर्दै प्याब्सनका केन्द्रीय सल्लाहकार नारायणप्रसाद घिमिरेले विपद्को समयमा शैक्षिक क्षेत्रबाट भएको सहयोगले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको बताए। उनले झापाका विद्यालय परिवारबाट सङ्कलित रकमलाई राहत कार्यमा परिचालन गर्ने प्रक्रियामा केन्द्रीय समितिले समन्वय गर्ने जानकारी दिए।
कार्यक्रममा प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य एलपी उप्रेती, कोशी प्रदेश सचिव तथा प्याब्सन झापाका सल्लाहकार गौरीमान फागो, जिल्ला पदाधिकारीलगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए।

सम्बन्धित समाचार