काठमाडौं । नेपाल–चीन सीमाबाट भित्रिने चाइनिज इलेक्ट्रिक चुरोट अर्थात् ‘भेप’ अहिले नेपालका उत्तरी नाकाहरू हुँदै भारतसम्म पुग्ने संगठित तस्करीको ठूलो माध्यम बनेको छ । नेपालमा सीमित प्रयोग भए पनि भारतीय बजारमा यसको माग अत्यधिक भएकाले नेपाल ट्रान्जिट रुटका रूपमा प्रयोग हुँदै आएको तथ्य लगातार उजागर भइरहेको छ । पछिल्ला केही घटनाले भेप तस्करी अब सामान्य अवैध कारोबार नभई अन्तरदेशीय संगठित नेटवर्कको रूपमा फैलिएको संकेत दिएका छन् ।
सिन्धुपाल्चोकको तातोपानी नाका र मुस्ताङको कोरोला नाकामा हालै भएको बरामदीले यही यथार्थलाई थप पुष्टि गरेको छ । प्रहरी र सशस्त्र प्रहरी बलले करिब ५६ लाख ७० हजार रुपैयाँ बराबरको अवैध भेपसहित सात जनालाई पक्राउ गरे पनि वास्तविक तस्करी सञ्जाल अझै सुरक्षित रहेको स्थानीयको दाबी छ ।
प्रहरीका अनुसार तातोपानी नाकाको सीमावर्ती क्षेत्र भोटेकोसी गाउँपालिका–३ गंजेखोलाबाट १ हजार ६२० थान भेप बरामद गरिएको थियो । उक्त भेप चीनबाट नेपाल भित्र्याएर विभिन्न गोदाम हुँदै काठमाडौं पठाउने तयारी भइरहेको अवस्थामा टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा चाइनिज ब्राण्डका इलेक्ट्रिक चुरोट बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ एक्लेभट्टी क्षेत्रमा पनि ठूलो परिमाणमा भेपसहित तीन जना पक्राउ परे । कोरोला नाका हुँदै काठमाडौंतर्फ ल्याइँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । बरामद सामग्री ट्रकमार्फत ढुवानी भइरहेको अवस्थामा फेला परेको सुरक्षा स्रोतले जनाएको छ ।
तर यी बरामदी घटनाहरू सार्वजनिक भए पनि वास्तविक प्रश्न अझै अनुत्तरित छ — यति ठूलो परिमाणमा भेप कसरी सीमा पार गरेर नेपाल भित्रिन्छ ?
सीमावर्ती क्षेत्रका स्थानीय र सुरक्षा स्रोतहरूका अनुसार अधिकांश भेप तस्करी सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव नै छैन । चीनबाट कन्टेनर वा साना कार्गोमार्फत नेपाल भित्र्याइने भेप काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, काँकडभिट्टा, नेपालगञ्ज लगायतका शहरमा अस्थायी गोदाम राखेर पुनः भारत पठाइने गरेको स्रोतहरूको दाबी छ ।
विशेषगरी भारतका बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्ली क्षेत्रमा चाइनिज भेपको माग अत्यधिक रहेको तस्करी नियन्त्रणमा खटिएका एक अधिकारी बताउँछन् । भारतमा इलेक्ट्रिक चुरोटमाथि कडा नियन्त्रण र प्रतिबन्धजस्तै अवस्था भएकाले तस्करहरूले नेपाललाई सुरक्षित ट्रान्जिट रुटका रूपमा प्रयोग गर्न थालेका हुन् ।
नेपालमा भेपमाथि स्पष्ट र कडा कानुनी व्यवस्था नहुँदा तस्करहरूले यही कमजोरीको फाइदा उठाइरहेका छन् । भन्सार छलेर ल्याइएका भेपहरू नेपालमा थोरै मात्रामा बिक्री गरिए पनि अधिकांश सामान भारतीय सीमातर्फ पठाइने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।सीमावर्ती जिल्लाहरूमा रातको समयमा मात्रै होइन, दिउँसै भेप ओसारपसार हुने गरेको स्थानीयको आरोप छ । खासगरी तातोपानी, रसुवागढी, कोरोला, हिल्सा जस्ता उत्तरी नाकाबाट सामान प्रवेश गराएर मध्य नेपालका विभिन्न जिल्लामा ‘सेफ हाउस’ बनाइन्छ । त्यसपछि ट्रक, बस, निजी गाडी वा फलफूल तथा लत्ताकपडाको कार्गोभित्र लुकाएर भारतीय सीमासम्म पु¥याइन्छ ।
एक सुरक्षा अधिकारीका अनुसार भेप तस्करीमा अहिले सुन, मोबाइल र कपडाजस्तै संगठित गिरोह सक्रिय छन् । “यो सामान्य सानो कारोबार होइन । करोडौं रुपैयाँ लगानी हुने नेटवर्क हो । सामान चीनबाट आउँछ, नेपालमा सेटिङ मिलाइन्छ र भारत पुगेर ठूलो मूल्यमा बिक्री हुन्छ,” ती अधिकारीले भने ।
स्रोतका अनुसार एउटा भेप नेपालमा दुईदेखि तीन हजार रुपैयाँसम्ममा भित्रिन्छ भने भारतमा त्यही सामान पाँचदेखि आठ हजार भारतीय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यही अत्यधिक नाफाका कारण तस्करहरू जोखिम मोलेर समेत यो धन्धामा सक्रिय छन् ।
अर्कोतर्फ सीमामा खटिएका केही सुरक्षाकर्मीमाथि नै तस्करी संरक्षण गरेको आरोप लाग्ने गरेको छ । स्थानीय बासिन्दाहरूका अनुसार नियमित ‘लाइन सेटिङ’ मिलाएर सामान पार गराइने गरिएको छ । कहिलेकाहीँ मात्रै देखाउनका लागि साना खेप बरामद गरिन्छ, तर ठूलो परिमाणमा हुने तस्करी भने निर्बाध चलिरहेको आरोप उनीहरूको छ ।
तातोपानी र रसुवागढी क्षेत्रमा व्यापारको नाममा दैनिक सयौं मालवाहक सवारी भित्रिने गरेका छन् । त्यही भीड र भन्सारको कमजोर निगरानीको फाइदा उठाउँदै भेप, मोबाइल, इलेक्ट्रोनिक सामान तथा अन्य अवैध सामग्री भित्र्याइने गरिएको व्यवसायीहरू नै स्वीकार गर्छन् ।
मुस्ताङको कोरोला नाका खुलेपछि पनि तस्करीको जोखिम बढेको सुरक्षा निकायको आन्तरिक निष्कर्ष छ । चीनसँगको व्यापार विस्तारको नाममा खोलिएका उत्तरी नाकाहरू अहिले अवैध कारोबारको केन्द्र बन्दै गएको भन्दै सुरक्षा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।स्वास्थ्य क्षेत्रका विज्ञहरू भने भेप तस्करीले अर्को गम्भीर समस्या निम्त्याइरहेको बताउँछन् । युवापुस्तामा भेपको प्रयोग बढ्दै गएको र यसले नयाँ पुस्तालाई निकोटिनको लततर्फ धकेलिरहेको उनीहरूको चेतावनी छ । विभिन्न फ्लेभर र आकर्षक डिजाइनमा आउने चाइनिज भेप विद्यालय तथा कलेज तहका युवामाझ लोकप्रिय बन्दै गएको छ ।
यद्यपि सरकारले अझैसम्म भेप नियन्त्रणका लागि प्रभावकारी नीति ल्याउन सकेको छैन । भन्सार, प्रहरी, सशस्त्र प्रहरी र राजस्व अनुसन्धानबीच समन्वय कमजोर हुँदा तस्करहरूले सजिलै नेटवर्क विस्तार गरिरहेका छन् ।सीमा क्षेत्रमा कार्यरत केही अधिकारीहरू नै तस्करहरूसँग आर्थिक लेनदेनमा संलग्न हुने गरेको आरोप बारम्बार उठे पनि ठूला गिरोहसम्म अनुसन्धान पुग्न सकेको छैन । पक्राउ पर्नेहरू प्रायः भरिया, चालक वा साना कारोबारी मात्रै हुने गरेका छन् ।
विश्लेषकहरूका अनुसार जबसम्म तस्करीको मुख्य सञ्जाल, लगानीकर्ता र संरक्षण दिने संयन्त्रसम्म अनुसन्धान पुग्दैन, तबसम्म यस्ता बरामदी घटना केवल ‘देखावटी कारबाही’मा सीमित रहनेछन् ।नेपाल अहिले चीनबाट आउने अवैध भेपको ट्रान्जिट करिडोरमा रूपान्तरण भइसकेको संकेत पछिल्ला घटनाले दिएका छन् । उत्तरी नाकाबाट भित्रिने अवैध भेप खुला सीमाको फाइदा उठाउँदै भारत पुगिरहेको छ । सुरक्षाकर्मी, भन्सार कर्मचारी र तस्करबीचको कथित सेटिङ तोड्न नसकिए भोलिका दिनमा यो अवैध कारोबार अझ भयावह बन्ने निश्चित देखिन्छ ।