बिर्ता–इनर्वा–छपकैयामा तस्करी, घुमुवा प्रहरीको संरक्षणमाथि प्रश्न

413 Shares

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा केही दिनयता सीमावर्ती नाकाबाट तस्करी बढेको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ। विशेषगरी बिर्ता, इनर्वा र छपकैया क्षेत्रबाट प्रहरीको मिलेमतो र संरक्षणमा तस्करीको लाइन सञ्चालन भइरहेको आरोप सार्वजनिक भएपछि सुरक्षा संयन्त्रमाथि नै गम्भीर प्रश्न खडा भएको छ।
स्थानीय स्रोतका अनुसार बिर्ता क्षेत्र, वडा प्रहरी कार्यालय बिर्ता, इनर्वा प्रहरी चौकी तथा छपकैया आसपासमा लामो समयदेखि कार्यरत केही घुमुवा प्रहरी र फाँटमा रहेका कर्मचारीको संरक्षण तथा सेटिङमा तस्करी हुने गरेको आरोप छ। प्रहरीको नियमित निगरानी र गस्ती हुँदाहुँदै पनि सीमावर्ती क्षेत्रबाट कपडा, हार्डवेयर, इलेक्ट्रोनिक तथा अन्य सामान भित्रिने क्रम नरोकिएको बताइन्छ।
स्थानीय तहमा चर्चामा आएको विवरणअनुसार बिर्ता–इनर्वा क्षेत्रबाट नवराज, तमन्ना, मुकेश, भोला, नितेश, रूविनालगायतका समूह कपडा तथा हार्डवेयरजन्य सामानको कारोबारमा संलग्न रहेको आरोप लगाइएको छ। त्यस्तै, जोहारा लगायतको समूहले पनि कपडाको तस्करी गर्ने गरेको दाबी गरिएको छ। यद्यपि, यी व्यक्तिहरू तस्करीमा संलग्न रहेको विषयमा सम्बन्धित निकायबाट स्वतन्त्र पुष्टि वा कानुनी निष्कर्ष सार्वजनिक भइसकेको छैन।
त्यसैगरी छपकैया नाकाबाट आजाद, रेजिता, हरिन्द्र, सुमन, जयप्रकाश, पशुपति काजु, सोनालाल, मास्टर, रायबाबु, मनोज, ललितालगायतका नाम तस्करीसँग जोडेर चर्चा गरिएको छ। उनीहरूले इलेक्ट्रोनिक सामान, कपडा, काजु–किसमिस तथा अन्य उपभोग्य वस्तुको अवैध ओसारपसार गर्ने गरेको आरोप स्थानीयस्तरमा लगाइएको छ। केही अपांगता भएका व्यक्तिहरूको समूहलाई समेत पेन्टलगायतका सामान ओसारपसारमा प्रयोग गर्ने गरिएको दाबी गरिएको छ।
तस्करीको चर्चा भइरहँदा सबैभन्दा गम्भीर प्रश्न भने सीमाक्षेत्रमा परिचालित घुमुवा प्रहरीको भूमिकामाथि उठेको छ। लामो समयदेखि एउटै क्षेत्र र जिम्मेवारीमा रहेका केही प्रहरी कर्मचारीले स्थानीय कारोबारीसँग निकटता कायम गरेको र त्यसैका आधारमा तस्करीको ‘लाइन’ सहज बनाएको आरोप छ।यदि यस्ता आरोपमा सत्यता छ भने सीमामा खटिएको प्रहरी संयन्त्रको नियमित अनुगमन, कर्मचारीको रोटेसन तथा कमान्ड तहबाट हुने निगरानी प्रभावकारी नभएको देखिन्छ। सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरीकै केही कर्मचारीमाथि तस्करीलाई संरक्षण गरेको आरोप लाग्नु आफैंमा गम्भीर विषय हो।
जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्वमा एसपी पवनकुमार भट्टराई आएपछि सीमावर्ती क्षेत्रमा प्रहरी परिचालन र तस्करी नियन्त्रणमा सुधार आउने अपेक्षा गरिएको थियो। तर स्थानीयस्तरमा लामो समयदेखि विवादित वा बदनाम भनिएका केही प्रहरी कर्मचारीलाई सम्बन्धित क्षेत्रबाट तत्काल नहटाइएको भन्दै आलोचना भइरहेको छ।विशेषगरी इनर्वा, बिर्ता र छपकैया क्षेत्रमा लामो समयदेखि कार्यरत प्रहरी कर्मचारी तथा घुमुवाको भूमिकामाथि छानबिन नगरेसम्म तस्करी नियन्त्रण प्रभावकारी नहुने स्थानीयको भनाइ छ।
सीमावर्ती क्षेत्रबाट भन्सार छली गरेर सामान भित्रिँदा यसको प्रत्यक्ष असर राज्यको राजस्वमा पर्छ। दैनिक ठूलो परिमाणमा सामान अवैध रूपमा भित्रिएको हो भने राज्यले लाखौं रुपैयाँ राजस्व गुमाउने अवस्था आउन सक्छ।त्यसैले वीरगञ्जका यी संवेदनशील नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय र स्थानीय प्रशासनबीच संयुक्त निगरानी तथा आकस्मिक छड्के जाँच आवश्यक देखिन्छ। साथै एउटै क्षेत्रमा लामो समयदेखि कार्यरत कर्मचारीको सम्पत्ति, कारोबारीसँगको सम्बन्ध, फोन सम्पर्क तथा कार्यसम्पादनसमेत आन्तरिक छानबिनको दायरामा ल्याउनुपर्ने माग उठेको छ।
तस्करी गर्ने कारोबारीभन्दा तस्करीलाई संरक्षण गर्ने सुरक्षा संयन्त्र अझ गम्भीर विषय हो। त्यसैले बिर्ता, इनर्वा र छपकैया क्षेत्रमा उठेका आरोपलाई सामान्य गुनासोका रूपमा पन्छाउनुको सट्टा सम्बन्धित प्रहरी नेतृत्वले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने देखिन्छ। आरोप पुष्टि भए दोषीमाथि कारबाही र आरोप गलत भए तथ्यसहित स्पष्ट पार्नु नै प्रहरी नेतृत्वका लागि अहिलेको मुख्य चुनौती बनेको छ।

सम्बन्धित समाचार