काठमाडौ– छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ ।
छठमा सिङ्गै केराको घरी भगवान्लाई अघ्र्यका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । उनका अनसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।
जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ ।
समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रू छ लाख पर्ने उहाँले जानकारी दिनुभयो । बजारमा प्रत्येक केराको घरीलाई रू पाँच सयदेखि एक हजारसम्ममा बिक्री गरिन्छ ।