भलिबल खेल्दा झडप, घाइतेलाई अस्पतालको आकस्मिक कक्षमै गएर कुटपिट

17.1k Shares

काठमाडौँ, १९ भदौ । बिहीबार राति नौ बजेतिर काठमाडौं महानगरपालिका-१५ स्वयम्भुस्थित मनमोहन अस्पतालको आकस्मिक कक्षमा दुई समूहबीच झडप भएको छ ।

अस्पतालका अनुसार झडप हुँदा अज्ञात समूहले घाइतेहरूमाथि कुटपिट गरेका थिए भने नर्स, चिकित्सक, प्यारामेडिक्स तथा सुरक्षा गार्डहरूमाथि समेत हातपात भएको थियो ।

अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरूले आकस्मिक कक्षमा तोडफोड समेत गरेको बताएको छ ।

'आकस्मिक कक्षभित्रका इसिजी मेसिन, ड्रेसिङ ड्रम, टुल, टिचल फोर्सेब र अन्य मेडिकल उपकरणहरू तोडफोड गरेको व्यहोरा अवगत गराउन चाहन्छौं,' विज्ञप्तिमा भनिएको छ ।


महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख  एसएसपी श्याम ज्ञवालीका अनुसार दुई समूहबीच झडप पहिले रानीवनमा भएको थियो ।

'उनीहरू दुई समूहबीच पहिले रानीवनमा भलिबल खेल्ने क्रममा भएको रहेछ। घाइते भएपछि अस्पताल ल्याएका व्यक्तिहरूमाथि कुटपिट गर्न फेरि अस्पताल गएका रहेछन्,' उनले भने ।

यस घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ।

पक्राउ पर्नेमा वीरेन्द्रबहादुर धानुक र सुदीप देवकोटा छन्। प्रहरीका अनुसार उनीहरू अस्पतालमा कुटपिट गर्न अस्पताल पुगेका थिए ।


परिसरका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार झडपमा १०-१२ जना घाइते भएका छन् । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उनले बताए। पक्राउ पर्नेहरू पनि सामान्य घाइते छन् ।

सम्बन्धित समाचार