आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

1k Shares

काठमाण्डौ - आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस भव्य रूपमा मनाइँदैछ । 

सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो । 

सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ । पर्यटन विभागका अनुसार आठ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । विश्वका १४ वटा अग्ला हिमालमध्ये आठ वटा नेपालमा छन् ।  

यस दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसायी, पर्वतारोहणसम्बन्धी सङ्घसंस्था तथा स्थानीय तहले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरेका छन् । जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लिने, हिमतालको जोखिम बढ्ने तथा वातावरणीय प्रभाव देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् । 

पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण आधार मानिन्छ । हरेक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौँ पर्यटक तथा पर्वतारोही नेपाल आउने गरेका छन् । सगरमाथा आरोहणले नेपाललाई विश्व पर्यटन नक्सामा विशेष पहिचान दिलाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको मानिन्छ ।

यस अवसरमा नेपाल पर्वतारोहण सङ्घले हिमाली क्षेत्रको दिगो संरक्षण, स्वच्छता, सुरक्षित आरोहण र स्थानीय समुदायको जीवनशैली जोगाउन सबै पक्षको साझा प्रयास आवश्यक भएको जनाएको छ ।

सम्बन्धित समाचार