जेठ महिनाका लागि बैंकको ब्याजदर घट्यो

1.1k Shares

काठमाण्डाै – वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ ।

सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर ४ प्रतिशतबाट बढाएर ४ दशमलव ०५ प्रतिशत पुर्‍याएको छ भने ७ वटाले घटाएका र १२ बैंकले स्थिर राखेका छन् । वैशाखमा औसत ४ दशमलव ४ प्रतिशत रहेकोमा जेठमा औसत ४ दशमलव ३ प्रतिशतमा झरेको छ ।

जेठमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको ४ दशमलव ७५ प्रतिशत र सबैभन्दा कम कुमारी बैंकको ३ दशमलव ९६ प्रतिशत छ ।

लामो समयदेखि बैंकहरूसँग कर्जा लगानीयोग्य रकम उच्च भएकाले ब्याजदर घटिरहेको हो । अहिले बैंकहरूसँग झन्डै १२ खर्ब रुपैयाँभन्दा धेरै कर्जा दिन मिल्ने रकम छ । कर्जा प्रवाह कमजोर भएकाले बैंकहरूले २ दशमलव ५० देखि ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ७९ खर्ब ५९ अर्ब निक्षेप रहेकोमा ५८ खर्ब ७७ अर्ब रुपैयाँमात्रै कर्जा लगानी भएको छ ।

यसैबीच बैंकहरूको अधिकतम ब्याजदर ४ देखि साढे ४ प्रतिशत रहेकोमा नेपाल राष्ट्र बैंक अनुसार चैत महिनामा उपभोक्ता मुद्रास्फीतिदर ४ दशमलव ४७ प्रतिशत पुगेको छ । मुद्दतीको अधिकतम ब्याजदर नै मुद्रास्फीतिभन्दा तल झरेपछि वित्तीय क्षेत्रमा जोखिम बढेको विज्ञहरू बताउँछन् र यस्तो अवस्थामा मानिसहरूले बैंकमा पैसा राख्ने क्रम घट्न सक्ने चिन्ता व्यक्त भएको छ ।

सम्बन्धित समाचार