बर्दिया — जिल्लाको सीमावर्ती क्षेत्र गुलरिया नगरपालिका अन्तर्गत पर्ने लौकाही बोर्डर यतिबेला खुला रूपमा तस्करी हुने ‘सुरक्षित मार्ग’ का रूपमा कुख्यात बन्दै गएको छ। स्थानीय बासिन्दा, व्यवसायी तथा सीमाक्षेत्रका जानकारहरूका अनुसार सुर्तीजन्य पदार्थदेखि दैनिक उपभोग्य सामग्रीसम्म दिनदहाडै भारततर्फ ओसारपसार भइरहेको छ, र यसमा सुरक्षाकर्मीकै मिलेमतो रहेको गम्भीर आरोप उठेको छ।
स्थानीय स्रोतका अनुसार लौकाही बोर्डर क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बल र गणेशपुर प्रहरी चौकीबीचको कथित ‘सेटिङ’ का कारण तस्करहरू निडर बनेका छन्। ‘पहिले राति–राति लुकिछिपी हुने काम अहिले दिउँसै खुलेआम हुन थालेको छ,’ एक स्थानीयले नाम नखुलाउने सर्तमा भने, ‘सशस्त्र र प्रहरीकै आडमा तस्करी भइरहेको छ भन्ने आम बुझाइ छ।’
तस्करहरूले सीमावर्ती गाउँहरूमा घर भाडामा लिएर वा आफ्नै घरमा सामान लुकाएर राख्ने र मौका मिल्ने बित्तिकै भारततर्फ पठाउने गरेको पाइएको छ। विशेषगरी सुर्तीजन्य पदार्थ, तेल, चिनी, लत्ताकपडा तथा अन्य उपभोग्य सामग्रीहरू ठूलो परिमाणमा भण्डारण गरी सीमापार ओसार्ने गरिएको स्थानीय बताउँछन्।एक होटल व्यवसायीका अनुसार, “हामीले दिनमा कति गाडी आयो, कति गयो भनेर गन्ने कुरा हुँदैन। तर, आँखैअघि दिन–रात सामान ओसारिरहेको देखिन्छ।” उनका अनुसार कोठियाघाट छोटी भन्सार नाका तस्करीको मुख्य केन्द्र बनेको छ, जुन गुलरियाबाट करिब २४ किलोमिटर पश्चिममा पर्छ।
मुख्य भन्सार नाकामा पछिल्लो समय कडाइ बढेपछि तस्करहरूको ध्यान ‘छोटी भन्सार नाका’ तर्फ मोडिएको देखिन्छ। बर्दियामा रहेका आठमध्ये अधिकांश छोटी भन्सार नाका अझै पुनःस्थापना हुन सकेका छैनन्। गुलरिया र तारातालबाहेक ६ वटा नाका बन्दजस्तै अवस्थामा छन्, जसले गर्दा अनुगमन कमजोर भएको छ।
यिनै नाकाहरू अहिले अवैध कारोबारको ‘हटस्पट’ बनेका छन्। स्थानीयका अनुसार तस्करहरूले दुबै देशका सर्वसाधारणलाई प्रयोग गरी सामान ओसार्ने गरेका छन्। ‘सानो–सानो परिमाणमा मानिसहरूलाई बोकाएर पठाइन्छ, जसले गर्दा प्रहरीलाई नियन्त्रण गर्न गाह्रो हुन्छ,’ एक सीमावासीले बताए।
सीमाक्षेत्रका बासिन्दाहरू स्पष्ट रूपमा भन्छन्— यस्तो स्तरको तस्करी बिना ‘सेटिङ’ सम्भव छैन। ‘तेल, सुर्ती, चिनी जस्ता सामान खुल्लमखुल्ला गइरहेका छन्। यदि सुरक्षाकर्मी इमान्दार हुन्थे भने यस्तो हुन सक्दैनथ्यो,’ एक स्थानीयको गुनासो छ।उनका अनुसार तस्करहरूले नेपाली पक्ष मात्र होइन, भारतीय सीमातर्फका सुरक्षा निकायसँग समेत समन्वय मिलाउने गरेका छन्। यसले गर्दा उनीहरूलाई सीमामा कुनै अवरोध हुँदैन।
विश्लेषकहरूका अनुसार सशस्त्र द्वन्द्वकालमा विस्थापित भएका छोटी भन्सार नाकाहरू अहिलेसम्म पुनःस्थापना हुन नसक्नु तस्करी बढ्नुको मुख्य कारण हो। ती नाकाहरू व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन नसक्दा राज्यको उपस्थिति कमजोर देखिएको छ।‘राज्यले सीमामा आफ्नो उपस्थिति मजबुत बनाउन नसक्दा गैरकानुनी गतिविधि बढ्नु स्वाभाविक हो,’ एक पूर्व सुरक्षा अधिकारीले बताए, ‘छोटी भन्सार नाकाहरू पुनःस्थापना गरेर कडाइ नगरेसम्म यस्तो समस्या नियन्त्रणमा आउँदैन।’
तस्करीका कारण सरकारलाई ठूलो राजस्व घाटा भइरहेको छ। वैधानिक रूपमा भन्सार तिरेर आउने सामानको सट्टा अवैध रूपमा भित्रिने वस्तुले बजार ओगट्दा व्यवसायीहरू समेत मारमा परेका छन्।स्थानीय व्यापारीहरू भन्छन्, ‘हामीले भन्सार तिरेर सामान ल्याउँछौं, तर तस्करीको सामान सस्तोमा बजारमा आउँदा प्रतिस्पर्धा गर्नै सकिँदैन।’ यसले वैधानिक व्यापार प्रणाली नै कमजोर बनाउने खतरा बढेको छ।
यति गम्भीर विषयमा सुरक्षा निकायको औपचारिक प्रतिक्रिया भने अझै स्पष्ट आएको छैन। स्थानीय तहदेखि जिल्ला प्रशासनसम्म यो विषयमा जानकारी भए पनि प्रभावकारी कदम चालिएको देखिँदैन।प्रशासन स्रोत भने ‘अनुगमन भइरहेको’ दाबी गर्छ, तर वास्तविकता भने फरक देखिन्छ। सीमाक्षेत्रमा बस्ने नागरिकहरू भने कारबाहीको सट्टा बेवास्ता भइरहेको भन्दै आक्रोशित छन्।बर्दियाको लौकाही बोर्डर अहिले केवल सीमावर्ती नाका मात्र होइन, राज्य संयन्त्रकै कमजोरी र मिलेमतोको प्रतीक बन्दै गएको छ। दिनदहाडै भइरहेको तस्करीले न केवल राजस्वमा क्षति पु¥याएको छ, बरु कानुनी शासनमाथि नै प्रश्नचिह्न खडा गरेको छ। अब पनि सम्बन्धित निकायले चासो नदिने हो भने यो समस्या झन् भयावह बन्ने निश्चित देखिन्छ।