काठमाण्डाै – हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव १६ अङ्कले घटेर २ हजार ७७० दशमलव २६ विन्दुमा झरेको छ ।
आज अन्य बाहेक सबै समूहको सूचक घटेकोमा होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको सूचक साढे २ प्रतिशतले ओरालो लागेको छ । आज २१३ वटा कम्पनीको शेयर घटेकोमा ४२ वटाको बढेको छ । यस्तै १४ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर १५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन हिमालयन बैंकको बोन्ड २०८६ सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ३४९ वटा कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएको छ ।