काठमाडौं, ४ माघ । सर्वोच्च अदालतमा न्यायाधीशसहित ३१ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश, मुख्य रजिस्ट्रारसहित ३१ जनालाई केही दिनयता कोरोना देखिएको हो ।
एकै पटक धेरै जनामा कोरोना देखिएपछि सर्वोच्चले बुधबारदेखि आगामी माघ १८ गतेसम्मलाई विभिन्न सेवा कटौती गरेको छ । अब सर्वोच्चमा विभिन्न पाँच किसिमका मात्रै मुद्दा हेरिने भएको छ । दाहालका अनुसार बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित मुद्दाको नियमित सुनुवाइ हुनेछ । त्यस्तै मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारवाही नियमित रुपमा सञ्चालन गर्ने निर्णय भएको दाहालले बताए । सर्वोच्चले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७(६) र १५५ बमोजिमका थुनुवाहरूको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ जारी राख्ने भएको छ । त्यस्तै थुनुवा भएका मुद्दाको सुनुवाइ नरोकिने पनि दाहालले बताए। उनका अनुसार हेर्दा हेर्दै र नि.सु.मा रहेका मुद्दाको पनि निरन्तर सुनुवाइ हुनेछ ।