काठमाण्डौ – वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले अब घरबाटै अनलाइनमार्फत ‘नो अब्जेक्सन सर्टिफिकेट’ अर्थात् एनओसी लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले यो सेवालाई पूर्णतः फेसलेस र अनलाइन बनाएको छ ।
यसका लागि त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयसँग प्रणाली अन्तरआवद्धता गरिएको छ । अब विद्यार्थीले आवेदन दिँदा नागरिकता, एनइबीको प्रमाणपत्र र विश्वविद्यालयको विवरण स्वतः प्रणालीबाट रुजु हुने भएकाले कार्यालयमा भौतिक रूपमा उपस्थित हुनु पर्दैन ।
राजस्व समेत अनलाइनमार्फत नै बुझाउन सकिनेछ । स्वीकृत भएको एनओसी सर्टिफिकेट विद्यार्थीले आफ्नै प्रोफाइलबाट डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन् । सर्टिफिकेटमा क्यूआर कोड राखिएकाले यसको प्रामाणिकता सजिलै जाँच गर्न सकिनेछ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले एनओसीका लागि शिक्षा मन्त्रालयको अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन् ।