रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन शुरू गर्ने

1.3k Shares

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन शुरू गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले आगामी वैशाख १५ देखि जिल्ला अधिवेशन शुरू गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

रास्वपाको ७६ जिल्लामा जिल्ला कार्यसमिति र डोल्पामा तदर्थ समिति छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा एजेन्डा तय गरेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक विशेषगरी सांगठनिक सुदृढीकरण, आउँदो महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित हुनेछ ।

भोलिको बैठकको शुरूमा पार्टीका अहिलेसम्मका गतिविधिहरूको व्रिफिङ गरिने र त्यसपछि २० जना केन्द्रीय सदस्यहरूलाई जनस्तरको रिपोर्टिङका लागि जनही २ मिनेटको समय उपलब्ध गराइने प्रवक्ता झाले जानकारी दिनुभयो ।

बैठकको मुख्य एजेन्डा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र महाधिवेशन कार्यविधिको मस्यौदामाथिको छलफल रहेको छ । यसका साथै पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि बैठकमा छलफल हुनेछ । रास्वपाले पालिकाको चुनावलाई लक्षित गर्दै ‘स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने र इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गर्ने नयाँ प्रस्ताव पनि अघि सारेको छ ।  

सम्बन्धित समाचार