काठमाण्डाै – सरकारले पर्वतारोहण तथा पदयात्रा क्षेत्रमा हुने हेलिकप्टर उद्धारमा देखिएका अनियमितता र बीमा ठगीका घटनालाई रोक्न कडा कदम चाल्ने घोषणा गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज विज्ञप्ति निकालेर शून्य सहनशीलताको नीति अपनाउने बताएको हो । नक्कली बिरामी बनाएर अनावश्यक हेलिकप्टर उद्धार गर्ने र बीमा कम्पनीहरूसँग ठूलो रकम दाबी गर्नेसम्बन्धी समाचार सार्वजनिक भएपछि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको हो । यस्ता कार्यमा संलग्न व्यक्ति र एजेन्सीहरूलाई कडा अनुसन्धान गरी कालोसूचीमा राख्ने र सार्वजनिक गर्ने मन्त्रालयकाे तयारी छ ।
मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले निकाल्नुभएको विज्ञप्तिमा ’ट्रेकरहरूलाई नियोजित रूपमा दूषित खाना खुवाएर बिरामी पारिन्छ’ भन्ने दाबी भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट पुष्टि नभएको उल्लेख छ ।
मन्त्रालयकाअनुसार नक्कली उद्धारसम्बन्धी घटनामा तत्काल सम्बोधनका लागि पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, नेपाल प्रहरी र पर्यटन बोर्ड सम्मिलित संयुक्त अनुगमन कार्यदल परिचालन गरिएको छ भने दीर्घकालीन सुधारका लागि प्रविधिमा आधारित ’रेस्क्यु म्यानेजमेन्ट सिस्टम’ विकास गर्ने योजना पनि अघि सारिएको छ ।
अहिले वसन्तकालीन आरोहणका लागि पर्यटक हिमाली क्षेत्रमा जाने क्रम शुरू भइसकेको छ । पर्यटन विभागकाअनुसार अहिलेसम्म १५ वटा हिमाल आरोहणका लागि २३६ जनाले अनुमति लिइसकेका छन् ।