भक्तपुरको यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने दुई पक्राउ

3.1k Shares

काठमाण्डौ - भक्तपुरको मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा रहेको यातायात व्यवस्था कार्यालयमा आएका सेवाग्राहीलाई लिखित तथा प्रयोगात्मक परीक्षा पास गराइदिन्छु भन्दै रकम माग्दै हिँड्ने दुई जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले सेवाग्राहीलाई अनावश्यक दुःख एवं हैरानी दिने गरेको भन्दै दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो । 

सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ घर भई अहिले राधेराधे बस्ने २९ वर्षीया यमकुमारी श्रेष्ठ र चितवनको कालिका नगरपालिका–६ घर भई राधेराधे बस्ने ३० वर्षीय सुनील थापालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । 

यसअघि हिजो नै काठमाण्डौको सानो भर्‍याङमा रहेको यातायात व्यवस्था कार्यालयबाट ७ जना बिचौलिया पक्राउ परेका थिए । सेवाग्राहीको बिलबुक नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीलाई समातेको हो । 

त्यस्तै अस्ति यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरबाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार