पतिले खाना पकाउने ग्याँस ल्याउन नसकेपछि पाँच महिने छोरोसहित पत्नी बेपत्ता

4k Shares

इरान-अमेरिका तनावका कारण भारतमा इन्धन अभाव हुँदा एक महिला बच्चासहित बेपत्ता भएकी छिन्।
उत्तर प्रदेशको बाराबंकी जिल्लामा ग्याँस अभाव भएपछि महिलाले घर छोडेको घटना सार्वजनिक भएको छ।
श्रीमानसँगको विवादपछि ती महिला ५ महिने छोरा लिएर बेपत्ता भएकी हुन्, र प्रहरीले खोजी गरिरहेको छ।
काठमाडाैँ । इरानसँग अमेरिका र इजरायलले गरेको सैन्य कारबाहीको परिणाम विश्वमा इन्धन तथा खाना पकाउने ग्याँस अभावका रूपमा देखा पर्न थालेको छ।भारतमा घरमा ग्याँस नभएकै कारण एक महिला आफ्नो पाँच महिनाको छोरो लिएर बेपत्ता भएको घटना प्रकाशमा आएको छ।

उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लास्थित बौधनी मजरे खटौली गाउँमा यस्तो घटना भएको हो । सोही गाउँ निवासी अनिलकुमारकी पत्नी समुन देवी घर छाडेर बेपत्ता भएकी हुन् ।अनिल र सुमन देवीको विवाह करिब दुई वर्ष अघि भएको थियो । यी दुईका पाँच महिने छोरा पनि छन् ।

अनिल एउटा कम्पनीमा काम गर्दछन् । केही दिनअघि उनको घरमा खाना पकाउने ग्याँस सकिएको थियो । रात्रिकालीन ड्युटी सकेर बिहान घर फर्किंदा खाना नपाकेको देखेपछि उनले पत्नीलाई यसबारे सोधेका थिए । पत्नीले ग्याँस नभएका कारण आफूले खाना पकाउन नसकेको बताएकी थिइन् ।

अनिलले भोकै बस्नुभन्दा दाउरा बालेर भए पनि खाना पकाएको हुन्थ्यो भन्ने तर्क गरेसँगै दम्पतीबिच विवाद बढेको थियो । विवादपछि अनिल आफ्नो कोठामा गएर सुतेका थिए ।

अपराह्न करिब ४ बजेतिर बिउँझिएपछि अनिलले घरमा पत्नी र बच्चालाई देखेनन् । छरछिमेकमा सोधखोज गर्दा पनि फेला नपरेपछि उनले प्रहरी कार्यालयमा पत्नी बेपत्ता भएकोबारे जानकारीसहित निवेदन दिएका छन् ।

पत्नीका आफन्तहरूसँग समेत सोधखोज गर्दा कतै फेला पार्न नसकेको अनिलको भनाइ छ । प्रहरीले अनिलको निवेदनका आधारमा आवश्यक कारबाही र खोजतलास गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार