सियोल । दक्षिण कोरियाको राजधानी सियोल शनिबार बैजनी रंगमा रंगिएको थियो। भवनका ठूला स्क्रिन, बिलबोर्ड, मास्कदेखि टिसर्टसम्म जताततै बीटीएसको सिग्नेचर रंग 'पर्पल' छाएको थियो।
अनिवार्य सैन्य सेवाका कारण तीन वर्षभन्दा लामो समय विश्राम लिएको विश्वकै ठूलो के-पप ब्यान्ड बीटीएसले सियोलको ऐतिहासिक ग्वान्ग्वामुन स्क्वायरबाट स्टेजमा सानदार पुनरागमन गरेको हो।

‘वेलकम ब्याक बीटीएस’ लेखिएका ब्यानरले सहर भरिएको थियो भने आफ्ना प्रिय स्टारहरूलाई हेर्न विश्वभरबाट प्रशंसकहरू सियोल ओइरिएका थिए। अमेरिकाबाट आएका भेरोनिका र अमान्डाजस्ता हजारौँ प्रशंसकहरूले बैजनी रंगको परम्परागत कोरियाली पहिरन हान्बोक लगाएर ब्यान्डको स्वागत गरे।
लामो समयको प्रतीक्षापछि सातै जना सदस्यहरू, आरएम, जिन, सुगा, जे-होप, जिमिन, भी र जङ कूक, एकसाथ स्टेजमा देखिँदा प्रशंसकहरूको चिच्याहटले सियोल गुञ्जायमान भएको थियो।
कन्सर्टको सुरुवात बीटीएसको नयाँ एल्बम ‘आरिराङ’ मा समावेश ट्र्याक ‘नम्बर २९’ बाट भयो। जसमा कोरियाको ऐतिहासिक डिभाइन बेल अफ किंग सेङदेओकको गहिरो धुन प्रयोग गरिएको थियो।