गाँजाको सेवनले कम हुन्न एङ्जायटीः अध्ययन

2.1k Shares

नयाँ अध्ययनले गाँजाको प्रयोगले मानसिक स्वास्थ्य समस्या कम नगर्ने देखाएको छ।
अध्ययनले चिन्ता, डिप्रेसनलगायतका समस्यामा गाँजा प्रभावकारी नभएको निष्कर्ष निकालेको छ।
वैज्ञानिक प्रमाणको अभावमा पनि अमेरिका र क्यानडामा गाँजाको प्रयोग बढिरहेको छ।
काठमाडौं । स्वास्थ्य वा मनोरञ्जनका लागि गाँजाको प्रयोगले मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू कम नहुने नयाँ अध्ययनले देखाएको छ । दीर्घकालीन अध्ययन र ‘गोल्ड स्ट्यान्डर्ड’ विश्लेषणका अनुसार गाँजामा पाइने प्रमुख तत्त्वहरू क्यानाबिडियोल (सीबीडी) र टेट्राहाइड्रोकानाबिनोल (टीएचसी)ले चिन्ता, अवसाद वा अन्य मानसिक रोगहरूमा उल्लेखनीय सुधार ल्याउने प्रमाण फेला परेको छैन । 

अस्ट्रेलियाको सिड्नी विश्वविद्यालय अन्तर्गतको अनुसन्धान टोलीका प्रमुख ज्याक विल्सनले नेतृत्व गरेको अध्ययन द लैंसेट साइकियाट्रीमा प्रकाशित भएको छ । यस अध्ययनमा सन १९८० देखि २०२५ सम्म प्रकाशित ५४ वटा अनियमित नियन्त्रित परीक्षणहरू (आरसीटीज)को विश्लेषण गरिएको थियो, जुन चिकित्सा अनुसन्धानको सबैभन्दा विश्वसनीय विधि मानिन्छ ।

‘हामीले कुनै पनि प्रकारको गाँजाले चिन्ता, डिप्रेसन वा पोस्ट(ट्रमाटिक स्ट्रेस डिसअर्डरजस्ता समस्यामा प्रभावकारी भएको प्रमाण फेला पारेनौं’ विल्सनले भने । अध्ययनले गाँजाको प्रयोगले अन्य मानसिक अवस्थाहरूमा पनि सुधार ल्याउन नसकेको देखाएको छ । यसमा एनोरेक्जिया, नर्भोसा, बाइपोलार डिस्अर्डर, अब्सेसिभ–कम्पल्शिभ डिस्अर्डर र सिजोफ्रेनिया समावेश छन् । 

अनुसन्धानमा प्रयोग गरिएका गाजाका औषधिहरू प्रायः क्याप्सुल, स्प्रे वा तेलको रूपमा थिए । तर वास्तविक जीवनमा धेरैजसो प्रयोगकर्ता धुवाँका रूपमा गाँजा सेवन गर्ने भएकाले वास्तविक प्रभाव झन कम प्रमाणित भएको बताइएको छ । अमेरिकाको येल विश्वविद्यालयका मनोचिकित्सक दीपक सिरिल डुसुजाको नेतृत्वमा गरिएको अर्काे अध्ययनले पनि यस्तै निष्कर्ष निकालेको छ ।

उनका अनुसार गाँजा वा यसका अवयवहरूलाई मानसिक स्वास्थ्य उपचारका रूपमा सिफारिस गर्न मिल्ने कुनै बलियो प्रमाण छैन  वैज्ञानिक प्रमाण अभाव हुँदाहुँदै पनि अमेरिका र क्यानडा जस्ता देशहरूमा गाँजाको प्रयोग तीव्र रूपमा बढिरहेको छ । 

अनुमान अनुसार १६ देखि ६५ वर्ष उमेर समूहका करिब २७ प्रतिशत मानिसहरूले औषधीय प्रयोजनका लागि गाँजा प्रयोग गरेका छन्, जसमा झण्डै आधाले मानसिक स्वास्थ्य सुधारका लागि प्रयोग गर्ने गरेका छन् । विशेषज्ञहरूका अनुसार, कतिपय अवस्थामा चिकित्सकहरूले समेत पर्याप्त प्रमाण बिना गाँजा सिफारिस गरिरहेको पाइन्छ, जसले उपचारको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।

सम्बन्धित समाचार