काठमाण्डौ — अमेरिका–इजराइल र इरानबीचको युद्धले मध्यपूर्वका खाडी देशमा जान लागेका धेरै नेपाली प्रभावित भएका छन् । इटहरीका सन्तोष तामाङ शनिवारयता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धाइरहनुभएको छ ।
रोमानियामा रोजगार गर्दै आएका तामाङ दुई महिनाको घर बिदा सकेर उतै फर्कन काठमाण्डौ आउनुभएको थियो । तर रद्द भएको जहाजको उडान अनिश्चित भएकाले अलमलमा परेको तामाङको गुनासो छ । यस्तो अवस्थामा न भोट हाल्न घर जान पाइने भयो, न उडान नै उहाँको गुनासो छ ।
कैलालीको टीकापुरका प्रदीप रावलको अवस्था पनि उस्तै छ । भोट खसालेर प्रतिनिधि चुन्न पाउने सुनौलो मौकाको सदुपयोग गर्ने चाहना हुँदाहुँदै पनि पछिल्लो परिस्थितिका कारण काठमाण्डौमा अल्झिनुपरेको रावल बताउनुहुन्छ । विदेशमा रहेका नेपाली कसरी सुरक्षित हुने भनेर चिन्तामा छन्, भने नेपालबाट विदेश जाने तयारीमा रहेकाहरु उडान कहिले हुन्छ ? प्रतिक्षामा छन् ।
नेपाल वैदेशिक रोजगार सङ्घका अध्यक्ष भुवनकुमार गुरुङले युद्धका कारण उडान अनिश्चित रहेको अनि तत्कालै खुल्ने सम्भावना कम रहेको बताउनुहुन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सूचनाअनुसार मध्यपूर्व क्षेत्रका कतार, युएइ, कुवेत, इरान, इराक, इजराइल, जोडन, लेबनान, बहराइनका विमानस्थल बन्द गरिएका छन् । खाडीका देशमा रहेका श्रमिकको सङ्ख्या झण्डै १९ लाख छ ।
पछिल्लो बिग्रदो अवस्थाले मध्यपूर्वका विभिन्न देशमा काम गर्दै आएका र काम गर्न जाने तयारीमा रहेका नेपालीहरु प्रभावित भएका छन् ।