काठमाडौं । काभ्रेको ऐतिहासिक सहर पनौतीमा प्रत्येक १२ वर्षमा लाग्ने मकर मेला कोभिड–१९ संक्रमणका कारण प्रभावित हुने भएको छ ।
पनौतीको त्रिवेणीघाटामा हरेक १२ वर्षमा मकर स्नान मेला लाग्ने गर्छ । माघ महिनाभर चल्ने मकर स्नानका लागि लाखौँ तीर्थयात्री पनौती पुग्ने गर्छन् ।
पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने भौतिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै मकर स्नान गर्ने व्यवस्था गरिने बताउँछन् । मेला व्यवस्थापनका लागि ४०० जना स्वयंसेवक, १०० जनपथ र १०० सशस्त्र प्रहरी परिचालन हुने उनले जानकारी दिए । ५० सैनिक पनि मेला व्यवस्थापनमा परिचालन हुने उनले बताए ।
“नेपाल सरकारले २५ भन्दा बढी भेला नगर्न निर्देशन दिएको छ । डीसीएमसीको बैठकले पनि त्यही निर्देशन जारी गरेको छ,” नगरप्रमुख न्यौपानेले बाह्रखरीसँग भने, “स्वास्थ्य सुरक्षाका मापदण्ड कडा पालना गराएर, पनौती छिर्ने नाकामा स्वास्थ्य परीक्षण गरेर तीर्थयात्रीलाई त्रिवेणीमा स्नानको व्यवस्था मिलाउँछौँ ।”
मकर स्नानघाटको क्षेत्र ठूलो भएको र २५/२५ जनालाई दुई मिटरको दूरीमा एकपटकमा २०० जनाले नुहाउन सक्ने अवस्था रहेको प्रमुख न्यौपानेले बताए । “मेलामा नुहाउने र दर्शन गर्ने कार्य हुन्छ । प्रदर्शनीलगायत अन्य व्यापारिक सबै कार्य रोकिन्छ,” उनले भने ।
उनले पनौती जाने मुख्य दुईवटा सडक कालोपत्र भएको समेत बताए । ललितपुर क्षेत्रका सर्वसाधारण काठमाडौंको ग्वार्कोबाट लाकुरीभञ्ज्याङ हुँदै पनौती जाने बाटो कालोपत्र भइसकेको उनले जानकारी दिए । यस्तै, कोटेश्वरबाट बनेपा हुँदै पनौती जाने बाटो पनि कालोपत्र भएको उनले बताए ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम अधिकारी पनि पनौतीमा मकर स्नान गर्न सक्ने तर अरू मेला, महोत्सव भने रोकिएको बताउँछन् । “मकर स्नान गर्न आउने तीर्थयात्रीलाई भिडभाड नहुने गरी मकर स्नान गर्ने र दर्शन गर्ने मात्रै व्यवस्था गर्ने निर्णय भएको छ । अन्य व्यापारिक कार्य भने रोकिनेछ,” उनले भने ।