अदालतमा पनि सन्दीपको इन्कारी बयान, आज थुनछेक बहस हुँदै

18.8k Shares

काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा बुधबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ। मंगलबार सन्दीपले जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासमा बयान दिएका थिए ।
सन्दीपको बयान मंगलबार नै सकिएको थियो । बयानका क्रममा सन्दीपले पीडित भनिएकी किशोरीले कसैको उक्साहटमा आफूविरुद्ध उजुरी दिएको बताएका छन् ।
 प्रहरीलाई पनि इन्कारी बयान दिएका सन्दीपले अदालतमा पनि उस्तै विषयलाई दोहोर्‍याएका हुन् । आज (बुधबार) थुनछेक बहस सुरु हुने बताइएको छ। सन्दीपको प्रतिरक्षामा बहस गर्न वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारी र अधिवक्ता मुरारीप्रसाद सापकोटाले वकालतनामा पेस गरेका छन् ।  
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो ।
सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को  परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।
दफा २१९ को उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो ।
पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याइ एक होटलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले बताएकी छन् ।

सम्बन्धित समाचार