तुलसी घिमिरेको ‘पहाड’ नयाँ वर्षमा आउने

2.7k Shares

काठमाडौं – तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को प्रदर्शन मिति तय गरिएको छ । उनका अनुसार फिल्म वि.सं २०८३ को वैशाख १ गतेबाट प्रदर्शनमा आउनेछ ।

निर्देशक घिमिरे भन्छन्, ‘हामीले स-परिवार हेर्न मिल्ने फिल्म बनाएका छौं । त्यसका लागि उपयुक्त मिति नयाँ वर्ष नै लाग्यो ।’

युवा विदेश पलायन हुँदा खाली भएका पहाडले ल्याउने सामाजिक र आर्थिक समस्याको कथामा फिल्म बनेको उनले खुलाए ।

यो फिल्ममा विपीन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री र रवीन्द्रसिंह बानियाँलगायतको अभिनय रहेको छ ।

घिमिरेले कान्छी छोरी पञ्चमीलाई यसै फिल्ममार्फत नायिकाको रुपमा दर्शकसामु ल्याउदैछन् ।

निर्देशक घिमिरे र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले यो फिल्ममा करिब तीन दशकपछि सहकार्य गरेका हुन् । उनीहरुले सन् १९९७ मा प्रदर्शनमा आएको फिल्म ‘बलिदान’मा सहकार्य गरेका थिए ।

त्यस्तै, यही फिल्ममा घिमिरेले खलनायक सुनील थापासँग तीन साढे तीन दशकपछि सहकार्य गरेका हुन् । उनीहरु ‘चिनो’ फिल्ममा सहकार्य गरेका थिए ।

‘चिनो’ फिल्मको पात्र ‘राते काइँला’बाट सुनील चर्चामा आए । घिमिरेकै फिल्म ‘पहाड’ प्रदर्शनमा नआउँदै सुनीलको निधन भयो ।

भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा बनेको यो फिल्मको निर्मात्री ओजस्वी केसी हुन् ।

सम्बन्धित समाचार