नेपालमा हिउँद् सुरु हुनेबित्तिकै वायु प्रदूषणको चर्चा चुलिन्छ । विशेषगरी काठमाडौँ उपत्यकाको आकाश धुम्म देखिनु र श्वासप्रश्वासमा समस्या आउनु नियमित प्रक्रियाजस्तै भएको छ । यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालय, वातावरण विज्ञान केन्द्रीय विभागकी प्रमुख प्रा.डा. रेजिना मास्केसँग रातोपाटीकर्मी अमृत चिमरियाले कुरा गरेका छन्–
हिउँद् लाग्नेबित्तिकै काठमाडौँको आकाश किन यसरी धमिलो र प्रदूषित हुन्छ ?
हिउँदमा वायु प्रदूषण बढ्नुमा मानवीय र प्राकृतिक दुवै कारण जिम्मेवार छन्, तर हिउँदको समयमा हुने वातावरणीय परिवर्तनले यसलाई झनै घातक बनाउँछ । यसको मुख्य वैज्ञानिक कारण ‘तापीय व्युत्क्रमण’ वा ‘थर्मल इन्भर्सन’ हो । सामान्य अवस्थामा उचाइ बढ्दै जाँदा तापक्रम घट्दै जानुपर्ने हो, जसले गर्दा जमिन नजिकको तातो हावा हल्का भएर प्रदूषक तत्वहरू बोक्दै माथितिर उड्छ र हावा सफा हुन्छ ।
तर हिउँदमा ठ्याक्कै उल्टो प्रक्रिया हुन्छ । जमिनको सतह निकै चिसो हुन्छ र त्यसको ठिक माथि तातो हावाको एउटा तह बस्छ । यसले वायुमण्डलमा एउटा ‘प्राकृतिक बिर्को’ वा ढकनीको काम गर्छ । फलस्वरूप, तल जमिनको सतहमा सवारी साधन, कलकारखाना र अन्य स्रोतबाट निस्कने धुवाँ र धुलोका कणहरू माथि जान पाउँदैनन् । ती प्रदूषक तत्वहरू हामीले सास फेर्ने तल्लो तहमै गुम्सिएर बस्छन् । यही कारणले गर्दा विशेषगरी बिहान र बेलुकाको समयमा प्रदूषणको मात्रा उच्चतम विन्दुमा पुग्छ ।
काठमाडौँको भौगोलिक बनावटले पनि यो समस्यालाई थप जटिल बनाएको हो ?
बिल्कुलै, काठमाडौँ उपत्यकाको बनावट एउटा कचौराजस्तो छ । यो चारैतिर पहाडले घेरिएको छ । यस प्रकारको भौगोलिक संरचनाले हावाको प्राकृतिक बहावलाई अवरुद्ध गर्छ । हिउँदमा हावाको गति निकै कम हुन्छ, जसले गर्दा बाहिरबाट स्वच्छ हावा भित्र छिर्न पाउँदैन र भित्रको प्रदूषित हावा बाहिर निस्कन सक्दैन ।
पहाडहरूले प्रदूषणलाई घेरेर राख्ने भएकाले उपत्यका एउटा ‘प्रदूषणको खाडल’ जस्तो बन्न पुग्छ । गर्मी महिनामा हावा तीव्र गतिमा चल्ने र वर्षा हुने भएकाले प्रदूषण हट्छ, तर हिउँदको सुक्खापन र स्थिर हावाले गर्दा यो समस्या हप्तौँसम्म जस्ताको तस्तै रहन्छ । वर्षा नहुँदा हावामा तैरिएका सुक्ष्म कणहरू पखालिन पाउँदैनन् र ती महिनौँसम्म वायुमण्डलमै बसिरहन्छन् ।
तपाईंको अध्ययन र विश्लेषण अनुसार काठमाडौँ उपत्यकाको प्रदूषणमा स्थानीय स्रोत र बाह्य स्रोतको हिस्सा कति छ ?
मेरो विश्लेषण र विभिन्न समयमा भएका अनुसन्धानहरूले के देखाउँछन् भने काठमाडौँ उपत्यकाको प्रदूषणमा ६० प्रतिशत भूमिका यहाँको स्थानीयस्तरमा उत्पन्न हुने धुलो र धुवाँको छ । यसमा सवारी साधनबाट निस्कने धुवाँ, सडकको धुलो र निर्माण कार्यबाट उड्ने कणहरू मुख्य हुन् । यसबाहेक करिब १५ देखि २० प्रतिशत प्रदूषण नजिकका सहरहरू वा उपत्यका वरपरका क्षेत्रबाट आउँछ । बाँकी रहेको १५ देखि २० प्रतिशत प्रदूषण भने बाह्य वा सीमापार कारणले हुने गर्दछ ।
यसको अर्थ के हो भने हामीले हाम्रो घरभित्रको प्रदूषण नियन्त्रण गर्न सक्यौँ भने पनि धेरै प्रतिशत सुधार ल्याउन सक्छौँ । तराई मधेसको हकमा भने स्थिति फरक छ, त्यहाँ अधिकांश प्रदूषण सीमापार, विशेषगरी भारतको औद्योगिक क्षेत्र र कृषि अवशेष जलाउँदा निस्कने धुवाँका कारण हुने गरेको पाइएको छ ।
स्थानीय स्रोतका कुरा गर्दा, कुन क्षेत्रले वायुमण्डललाई बढी क्षति पु¥याइरहेको छ ?
स्थानीय स्रोतहरूमा सबैभन्दा ठुलो हिस्सा यातायात क्षेत्रको छ । पुराना र उचित मर्मत नगरिएका सवारी साधनहरूले ठुलो मात्रामा ‘ब्ल्याक कार्बन’ उत्सर्जन गर्छन् । यो धुवाँ हिउँदको स्थिर हावामा लामो समयसम्म रहन्छ । दोस्रो मुख्य स्रोत इँटा भट्टाहरू हुन् । नेपालमा इँटा उत्पादनको मुख्य सिजन हिउँदमै सुरु हुन्छ, जुन बेला वायुमण्डल पहिले नै कमजोर स्थितिमा हुन्छ ।
उपत्यका वरपरका इँटा भट्टाहरूले प्रयोग गर्ने कोइला र त्यसबाट निस्कने धूवाँ सिधै वायुमण्डलमा मिसिन्छ । त्यस्तै हिउँदमा मानिसहरूले जाडो छल्न वा फोहोर व्यवस्थापनका नाममा खुला ठाउँमा आगो बाल्ने गर्छन् । यसरी फोहोर जलाउँदा निस्कने विषाक्त ग्यासहरूले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउँछन् । साथै, हिउँदमा नेपालमा धेरै निर्माणका कार्य हुने गर्छन्, जसले गर्दा पीएम १० जस्ता ठुला धुलोका कणहरूको मात्रा हावामा ह्वात्तै बढ्छ ।
सीमापार प्रदूषणको कुरा उठाइरहनुभएको छ, यसले नेपाललाई कसरी असर गरिरहेको छ ?
हिउँदको समयमा हावाको दिशा अक्सर दक्षिण–पश्चिमबाट उत्तर–पूर्वतर्फ हुने गर्दछ । यसको सिधा अर्थ के हो भने भारतको इन्डो–ग्यान्गेटिक प्लेनमा हुने औद्योगिक गतिविधि, ठुला कलकारखाना र त्यहाँका किसानहरूले पराल वा कृषि अवशेष जलाउँदा निस्कने धुवाँ नेपालतर्फ धकेलिन्छ । यो प्रदूषण हाम्रो तराईका जिल्लाहरू हुँदै पहाडी खोँचहरू र काठमाडौँसम्म आइपुग्छ । कहिलेकाहीँ तराईमा लाग्ने बाक्लो हुस्सु केवल पानीको बाफमात्र नभएर बाहिरबाट आएको प्रदूषक तत्वहरूको मिश्रण पनि हो । यो हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा भए पनि यसले हाम्रो वायुको गुणस्तरलाई एकाएक खराब बनाइदिन्छ ।
हिउँदको अन्त्यतिर आकाश झनै धमिलो देखिन्छ, के यसमा वन डढेलोको भूमिका पनि छ ?
फागुन र चैततिर जब सुक्खापन अझै बढ्छ, नेपालका विभिन्न वनजङ्गलमा डढेलो लाग्न सुरु हुन्छ । डढेलोबाट निस्कने धुवाँको विशाल मुस्लोले पूरै आकाशलाई ढाक्छ । यसले गर्दा भिजिबिलिटी (दृश्यांश) निकै कम हुन्छ र हवाई उडानहरू समेत प्रभावित हुन्छन् । डढेलोको धुवाँमा कार्बन मोनोअक्साइड र अन्य हानिकारक कणहरू हुन्छन्, जसले श्वासप्रश्वासका बिरामीहरूका लागि प्राणघातक स्थिति सिर्जना गर्छ । त्यसैले हिउँदको सुरुमा थर्मल इन्भर्सन र स्थानीय धुवाँले सताउँछ भने अन्त्यतिर डढेलोले प्रदूषणलाई अर्को चरम विन्दुमा पु¥याउँछ ।
वायु प्रदूषण न्यूनीकरणका लागि के गर्न सकिन्छ होला ?
हामीसँग नीतिहरू नभएका होइनन्, तर तिनको कार्यान्वयन पक्ष अत्यन्तै फितलो छ । पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम भनेको विद्युतीय ऊर्जामा जोड दिनु हो । इँटा भट्टाहरूमा आधुनिक र प्रदूषण कम गर्ने प्रविधि अनिवार्य गरिनुपर्छ र त्यसको नियमित अनुगमन हुनुपर्छ । हिउँदमा हुने निर्माण कार्य प्रदूषण नहुने गरी गर्नुपर्छ । सवारी साधनको प्रदुषण चेक नियमित हुनुपर्छ ।
अनुगमन र जनचेतनाका लागि राज्यको भूमिका के हुनुपर्छ ?
वायुको गुणस्तर मापन गर्ने केन्द्रहरूको सङ्ख्या अझै पर्याप्त छैन । हामीले प्रत्येक मुख्य सहर र औद्योगिक क्षेत्रमा यस्ता केन्द्रहरू स्थापना गरी सर्वसाधारणलाई वायुको गुणस्तरबारे वास्तविक समयमा जानकारी दिनुपर्छ । जब वायुको गुणस्तर घातक स्तरमा पुग्छ, सरकारले ‘हेल्थ इमर्जेन्सी’ जस्ता पूर्वसूचना जारी गर्ने संयन्त्र बनाउनुपर्छ । हिउँदमा हुने निर्माण कार्यहरूलाई पनि वैज्ञानिक ढंगले व्यवस्थापन गर्न जरुरी छ ।