अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटभित्र ५ जनाभन्दा धेरै मानिस भेला हुन निषेध

1.3k Shares

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेट भित्र निषेधाज्ञा जारी गरेको छ।
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किने बेला प्रदर्शन हुन सक्ने भएकाले यो निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञा एक महिनासम्म जारी रहनेछ, जसमा ५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने उल्लेख छ।

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटभन्दा भित्रको भागमा निषेधाज्ञा जारी गरेको छ । गोल्डेनगेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडकमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । 

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाडौँ फर्किँदा प्रदर्शन आयोजना गरिएसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले निषेधाज्ञा जारी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्र, अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र र पार्किङ लगायतका स्थानमा ५ जनाभन्दा धेरै मानिस भेला जम्मा हुन पाइने छैन । सो निषेधाज्ञा आजदेखि १ महिनासम्म जारी रहने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । 

पूर्वराजा अहिले झापामा छन् । उनी भोलि काठमाडौँ आउँदा राजावादीहरूले प्रदर्शन गर्न लागेका हुन् । चक्रपथ क्षेत्रमा भने अनुमति लिएर प्रदर्शन गर्न पाइने तर, सार्वजनिक सम्पत्ति तोडफोड गरेमा कारबाही हुने प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार