ग्यासको अभावपछि अनुगमन तीव्र : समस्या भए हटलाइन नम्बरमा फोन गर्न निगमको आग्रह

964 Shares

काठमाण्डौ – बजारमा खाना पकाउने ग्यासको अभाव तथा खानेतेल, दाल, चामललगायतको भाउ बढेको जस्ता समस्या देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्र बनाएको छ ।

अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या र अभावको उपभोक्ताबाट गुनासा बढेपछि उत्पादक, बिक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवम् प्रतिष्ठानमा निरन्तर रुपमा संयुक्तः बजार अनुमगन अगाडि बढाएको विभागले जनाएको छ ।

आयल निगमले बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति भएको दाबी गरिरहेको भए पनि उपभोक्ताले सहजै ग्यास पाउन सकेका छैनन् । मागभन्दा कम ग्यास आपूर्ति हुँदा अभाव भएको विभागको निष्कर्ष छ । तर निगमले खाना पकाउने ग्यासको अभाव भए सिधै सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

निगमले ग्यासको उपलब्धतामा कुनै समस्या आएमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी उजुरी टिपाउन भनेको छ । साथै उपभोक्तालाई आवश्यकताभन्दा धेरै ग्यासको भण्डारण नगर्न निगमको आग्रह छ ।

विज्ञप्ति नै निकालेर निगमले चुनावलाई समेत ध्यानमा राखेर ग्यासको आयात बढाएको जनाएको छ । फ्रेबुअरी महिनाको निर्धारित कोटामा दुई हजार मेट्रिक टन थप गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । अहिले दैनिक औसत ११० बुलेटमा ग्यास नियमित रूपमा आयात भइरहेको उहाँको भनाइ छ ।    

सम्बन्धित समाचार