म्याग्दीमा ९२३ किशोरीलाई एचपिभी खोप लगाउने तयारी

5.7k Shares

म्याग्दी, माघ २५ गते । म्याग्दी जिल्लामा ९२३ किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप दिइने भएको छ । यहि माघ २७ गते देखि फागुन ४ गतेसम्म सञ्चालन हुने खोप अभियानका लागि ६ वटै स्थानीय तहमा गरेर एकसय ३ वटा खोप केन्द्र निर्धारण गरिएको छ । 

प्रदेश जनस्वास्थ्य कार्यालयले खोप अभियानका लागि सबै तयारी पूरा भएको जनाएको छ । 

आइतबार जिल्लाका सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले खोप अभियानका लागि स्वास्थ्यकर्मीको परिचालन, खोप केन्द्र निर्धारण,सरोकारवालाहरुसँगको समन्वय वैठक लगायतका सबै तयारी पूरा भएको बताउनुभयो । 

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख ठकुराठीका अनुसार एकसय ५ वटा विद्यालयमा अध्ययन गर्ने छात्रा ८१३ जना र विद्यालय नजाने दश वर्ष भित्रका बालिका ६ र गत वर्ष खोप लगाउन छुटेका ७ देखि १० कक्षाको छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष भित्रका किशोरी ४ जना गरेर ९२३ जना किशोरीहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ ।  

खोप पूर्णरुपमा सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन जनस्वास्थ्य प्रमुख ठकुराठीले बताउनुभयो । यस अवधिमा गत वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि कक्षा १० सम्म अध्ययरत किशोरी तथा विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिइने उहाँले जानकारी दिनुभयो । 

खोप लगाउनका लागि  विद्यालय र स्वास्थ्य संस्था गरी १०३  वटा खोप केन्दको व्यवस्था गरिएको छ । अभियानमा १०३ स्वास्थ्यकर्मी र १०७ जना स्वयमसेवकहरु परिचालन गरिने तयारी भएको छ । 

बेनी नगरपालिकामा ३३४ जना,मंगलामा ११२,मालिकामा १७८,धवलागिरिमा १४१, रघुगङ्गामा ९१ र अन्नपूर्ण गाउँपालिकामा ६७ जना किशोरीहरुलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । 

महिलाको शारिरीक तथा प्रजनन स्वास्थ्यसँग जोडिएको एचपिभी खोप लगाउने अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक हुने प्रदेश जनस्वास्थ्य प्रमुख ठकुराठीले बताउनुभयो  । जिल्लाका ६ वटै पालिका र वडास्तरमा पनि खोप अभियान सञ्चालनको तयारी भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । गत वर्ष चारहजार ७ सय ६१ किशोरीहरुलाई एचपीभी खोप लगाइएको थियो । 

सम्बन्धित समाचार