मेडिकल व्यवसायी दुर्गा प्रसाईं काठमाडौँबाट पक्राउ

3.9k Shares

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। नेपाल प्रहरीले उनलाई काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले प्रसाईं पक्राउ परेको पुष्टि गरे पनि उनीमाथि के अभियोग लगाइएको हो भन्नेबारे हालसम्म स्पष्ट खुलाइएको छैन।

यसअघि प्रसाईं गत माघ ५ गते सार्वजनिक शान्ति विरुद्धको कसुरमा पोखराबाट पक्राउ परेका थिए। उनलाई काठमाडौँ ल्याइ माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो।

प्रसाईंले केही समयअघि नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको आरोप सार्वजनिक रूपमा लगाएका थिए। उक्त अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो।

हाल प्रसाईंको पक्राउ यही विषयसँग सम्बन्धित हो वा अन्य कारणले गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार