ओली, गगन र प्रचण्डबिच तालमेल सम्भव छ ?

3.4k Shares

काठमाडौँ । एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्ने घोषणाका साथ उम्मेदवारी मनोनयन दर्ता गरेका प्रमुख राजनीतिक दलबिच ‘अघोषित’ चुनावी तालमेलको चर्चा भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी माहोल देशभर बढ्दै गएपछि पुराना पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू नै आफूलाई असुरक्षित महसुस गर्दै अघोषित चुनावी तालमेल गर्ने प्रयत्नमा लागेको बताइएको छ ।

यद्यपि प्रमुख दलका दोस्रो तहका नेताहरूले तीन दलबिच कुनै पनि किसिमको चुनावी तालमेलबारे छलफल र कुराकानी नभएको र हुने सम्भावना पनि नरहेको दाबी गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक अनलाइनमा हालै दिएको अन्तर्वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘कुरा भइरहेको र सहकार्य असम्भव छैन’ भन्ने आशयको अभिव्यक्ति दिएपछि यसबारे थप चर्चा र चासो बढेको छ ।

प्रमुख दलका शीर्ष तहका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५, नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी रुकुमबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

ओलीसँग रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन), सर्लाहीमा कांग्रेस सभापति थापालाई रास्वपाकै उम्मेदवार डा. अमरेश सिंहले चुनौती दिइरहेका छन् । त्यस्तै प्रचण्डलाई जनयुद्धका सहिद पुत्र सन्दीप पुनले चुनौती दिइरहेका छन् ।

झापा–५ बाट लगातार चुनाव जित्दै आएका ओली, काठमाडौँ–४ बाट निर्वाचन जित्दै आएका थापा र विभिन्न निर्वाचन क्षेत्र बदल्दै भए पनि चुनाव जित्दै आएका प्रचण्ड यो पटक पनि जुनसुकै हालतमा चुनाव जितेर संसददेखि सिंहदरवारको यात्रालाई निरन्तरता दिने रणनीतिमा छन् ।

२०७९ को संसदीय निर्वाचनमा काठमाडौँ–४ बाट निर्वाचित कांग्रेसका थापा फागुन २१ को निर्वाचनमा ठुलै जोखिम मोलेर सर्लाही–४ बाट उम्मेदवारी दिन पुगेका हुन् ।

२०७९ सालको निर्वाचनमा सर्लाही–४ मा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका अमरेशकुमार सिंहले यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएकाले पनि गगनलाई थप चुनौती बढेको राजनीतिक विश्लेषण भइरहेको छ ।

त्यसो त विगतमा पनि एमाले अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित अन्य दलहरूसँग अघोषित गठबन्धन गर्दै झापा–५ बाट निर्वाचित हुँदै आएका नेता हुन् ।

सोही अनुसार झापा–५ मा कांग्रेसले ओलीलाई सघाउन सक्ने, सर्लाही–४ मा एमालेले कांग्रेसलाई सघाउन सक्ने, रुकुममा प्रचण्डलाई कांग्रेस–एमालेले सघाएर निर्वाचन जित्ने भित्री रणनीति बन्दै गरेको हुनसक्ने आकलनसहितको चर्चा चलेको छ ।

यस्तो चर्चामा कुनै सत्यता नभएको र त्यसबारे छलफल र कुराकानी नभएको तीन वटै दलका दोस्रो तहका नेताहरू दाबी गर्छन् । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसाल तीन दल वा नेताहरूबिच चुनावी तालमेलबारे अहिलेसम्म कुनै पनि कुराकानी नभएको बताउँछिन् ।

‘अहिलेसम्म कुनै पनि दलसँग त्यसबारे छलफल र कुराकानी भएको छैन । कुरा गर्ने योजना र तयारी पनि छैन’, भुसालले रातोपाटीसँग भनिन्, ‘हामी तालमेल गर्दैनौँ । किनभने पार्टीले १६५ क्षेत्रमै उम्मेदवार उठाएको छ ।’

पार्टीका उम्मेदवारहरूलाई आफ्नै सामर्थ्यले जिताउने रणनीतिमा कांग्रेस लागेको भुसालको भनाइ छ । ‘हामीलाई हाम्रा उम्मेदवार आफैँ जिताउने बाहेकका विषयतर्फ ध्यान छैन । ध्यान लगाउँदा पनि लगाउँदैनौँ’, उनले भनिन् ।

जेनजी आन्दोलनपछि विशेष महाधिवेशन गरेर नेतृत्व सम्हालेका कांग्रेस सभापति गगन थापा पनि चुनावी तालमेलको विपक्षमा उभिँदै आएका छन् ।

अर्को दल नेकपा एमालेका सचिव महेश बस्नेत पनि कांग्रेस र नेकपासँग चुनावी तालमेलबारे कुनै छलफल नभएको बताउँछन् । पार्टी अध्यक्ष ओलीका विश्वासपात्र मानिने उनले भने, ‘नेताहरूबिच चुनावी तालमेलका लागि भेटवार्ता र छलफल भएको छैन । अब चुनावी गठबन्धनको सम्भावना मैले देखेको छैन ।’

बस्नेतले दलका नेताहरूबिच संसद् पुनर्स्थापनाका बारेमा भने कुराकानी र छलफलहरू भएको संकेत गरे । ‘निर्वाचन मिति आइसकेको छ । अदालतमा मुद्दा विचाराधीन नै छ । पछिल्लो घटनाक्रम हेर्दा मुद्दाको छिनोफानो गर्न अदालत डराइरहेको छ’, बस्नेतले रातोपाटीसँग भने, ‘अदालतले कि विघटन ठिक छ भन्नुप¥यो, कि बेठिक भन्नुप¥यो ।’

बस्नेतले मुद्दाको फैसला गर्नुपर्छ भनेर प्रधानन्यायाधीश र न्यायाधीशहरू डराएर बिदामा बस्ने गरेको पाइएको बताए । ‘यसले अदालत जलेको भन्दा पनि न्याय जलेजस्तो देखिएको छ’, बस्नेतको टिप्पणी छ ।

नेकपा एमाले र कांग्रेसका तत्कालीन सांसदहरू संसद पुनर्स्थापनाको माग गर्दै अदालत गएका थिए ।

अर्कोतर्फ एमाले, कांग्रेस र नेकपाका नेताहरूले फागुन २१ को निर्वाचनको निष्पक्षतामाथि प्रश्न गर्दै आएका छन् । ‘सरकारले निश्चित दललाई सहयोग हुने भूमिका खेल्ने र निर्वाचन आयोगलाई त्यही ढंगले परिचालन गर्ने घटनाक्रम देखिँदैछन्’, बस्नेतले भने, ‘किनभने संविधान र लोकतान्त्रिक व्यवस्थाका पक्षधरबिच यस्तो चिन्ता देखिनु स्वाभाविक हो । संसद पुनर्स्थापनाको विषय तत्काल छिनोफानो गर्नुपर्छ र संविधान, कानुनअनुसार जानुपर्छ भन्नेमा तीन दलमा खासै मतभिन्नता छैन ।’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा.बेदुराम भुसाल पनि प्रमुख दलका शीर्ष नेताबिच अघोषित रूपमा चुनावी तालमेलका लागि छलफल भइरहेको भनेर बाहिर आएको विषयमा सत्यता नभएको बताउँछन् ।

‘त्यसबारे नेताहरूबिच कुनै कुराकानी र छलफल भएको छैन । भए पनि अब त्यो सम्भावना देखिँदैन, गाह्रो छ’, भुसालले भने । उनले संसद् पुनर्स्थापनाका सवालमा भने फरक दलका नेताहरूबिच कुराकानी भएको स्वीकार गरे ।

उनले रातोपाटीसँग भने, ‘बरु अरु विषयमा भने छलफल र कुराकानी भएको छ । संसद् पुनर्स्थापनामा जाऔँ भन्ने एमाले र कांग्रेसको देउवा पक्षको भनाइ छ । त्यसमा हामीे सहमत छैनौँ । अब त्यता जान सकिँदैन भनेका छौँ ।’

सम्बन्धित समाचार