आज विश्व सिमसार दिवस । ‘सिमसार र परम्परागत ज्ञान : सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने नाराका साथ मनाइँदै छ । यो दिवस हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइन्छ ।
मानवीय अतिक्रमण र जलवायु परिवर्तनका कारण नेपालमा सिमसार क्षेत्र सीमित हुँदै गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार अव्यवस्थित विकास निर्माण, बढ्दो जनसङ्ख्या, प्रदुषण र फोहरमैला सोझै नदीमा विसर्जन गर्ने प्रवृतिले सिमसार क्षेत्रको गुणस्तर घटाएको छ ।
यसबाहेक जलवायु परिवर्तनले ल्याएको बाढी तथा खडेरी, रासायनिक मल र विषादीको मिसावट तथा परम्परागत कृषि प्रणालीमा भएको रूपान्तरण पनि प्रमुख चुनौती बनेको वरिष्ठ इकोलोजिष्ट आचार्यले बताउनुभयो ।
अहिले नेपालका कोशीटप्पु, घोडाघोडी ताल, जगदीशपुर जलाशय, राराताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड लगायत १० सिमसार रामसारको सूचीमा सूचीकृत छन् । नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । विश्वको झन्डै नौ प्रतिशत र नेपालको झन्डै पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ ।
विश्वमा अहिलेसम्म एक सय ७२ देश रामसार महासन्धिमा आबद्ध छन् भने दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सिमसारले जल शुद्धीकरण, जलचक्र नियमन र तापमान सन्तुलन गर्ने काम गर्ने भएकोले यसलाई प्रकृतिको मिर्गौला पनि भनिन्छ ।