काठमाण्डौ – आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । चुनावी चहलपहल र सरगर्मी बढेसँगै देश चुनावमय भएको छ ।
आज मौसम पनि धेरै ठाउँमा सफा नै छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भागका थोरै ठाउँमा तुवाँलो लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा नै रहेको छ ।
आज दिउँसो तराई भागका केही ठाउँमा हुस्सु तथा कुहिरो कायमै रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहने अनुमान छ ।
आज बिहान पौने ६ बजे काठमाण्डौका न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेको छ । हिजो पनि काठमाण्डौको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस नै रहेको थियो ।