काठमाडौँ- राष्ट्रियसभा नवनिर्वाचित अध्यक्ष एवम् आफ्ना प्रतिपस्पर्धी नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाललाई कांग्रेसका उम्मेदवार युवराज शर्माले बधाई दिएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवन(राष्ट्रियसभा बैठकमा) मंगलबार भएको अध्यक्षको निर्वाचनमा माओवादी-एमालेसहितको गठबन्धनका दाहालसँग शर्मा पराजित भएका हुन्। दाहाल विजयी भएपछि बैठकस्थलमै शर्माले बधाई एवम् शुभकामना दिएका हुन्।
निर्वाचनमा माओवादीका दाहालले ३९ मत प्राप्त गरी बहुमतका आधारमा विजयी भए। शर्मा र दाहालका लागि दुवै तर्फबाट पेस गरिएको प्रस्तावित मत बहुमतका आधारमा पारित गरिएको हो। जसमा ३९ मत लिएका माओवादीका दाहाल विजयी भएका हुन्। कांग्रेसका शर्मालाई अध्यक्ष बनाउनुपर्ने प्रस्तावमा १७ जनाले मत दिएका थिए। राष्ट्रियसभाको आज भएको निर्वाचनमा जम्मा ५६ मत खसेको हो। राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम दाहाललाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरिएको हो। दाहाल राष्ट्रियसभामा रिक्त रहेको विज्ञ कोटाबाट मनोनित भएका थिए।
माओवादीका उम्मेदवार दाहाललाई माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन थियो भने कांग्रेसका शर्मालाई कांग्रेसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समर्थन थियो। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता समीकरण गर्न गरेपछि नारायाणप्रसाद दाहाल राष्ट्रियसभा अध्यक्ष बन्न संभव भएको हो। राष्ट्रियसभा निर्वाचनअघि कांग्रेसका कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउन कांग्रेस-माओवादीबीच सहमति भएको थियो।
नयाँ सत्ता समीकरणसँगै कांग्रेसले राष्ट्रियसभा अध्यक्ष गुमाउने भएपछि शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवारमा अघि सारिएको हो। एमालेसँग मिलेर सरकार बनाएपछि प्रचण्डले भोलि विश्वासको मत लिने तयारी गरका छन्। प्रचण्डले भोलिको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गर्दै गर्दा उनलाई मत पाउनबाट रोक्न कांग्रेसले वैकल्पिक गठबन्धन बनाएर कसरत गरिरहेको छ।
बुधबारको बैठकमा विश्वासको मत नदिन कांग्रेसले ह्वीप जारी गरेको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी तथा शीर्ष नेताको छलफल हुँदैछ।