काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाण्डौको भृकुटीमण्डपमा हिजोदेखि शुरू भएको विशेष महाधिवेशनमा आज बन्द सत्र हुँदैछ ।
बन्द सत्रमा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक विषयमाथि छलफल हुने कार्यतालिका छ । विशेष महाधिवेशनमा सहभागी कांग्रेसका प्रतिनिधिहरु हलबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने मनस्थितिमा छन् । यसअघि पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेका बहुमत प्रतिनिधि नै उहाँको विपक्षमा उभिएका हुन् ।
कांग्रेसका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ६ सय ६२ प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी छन् । संस्थापन पक्षले भने विशेष महाधिवेशन वैधानिकता र दाबी गरिएको संख्या दुवै गलत भएको टिप्पणी गरेको छ । तर आफूलाई सभापतिमा जिताउने प्रतिनिधि नै विपक्षमा उभिँदा नेतृत्वमा पार्टीको नेतृत्व गरिरहेका सभापति देउवामाथि राजनीतिक र नैतिक दबाब बढेको छ ।