फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा

6.4k Shares

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । 

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लासँग सिधा यातायात सञ्चालन गर्नेगरी जडान गरिएको अस्थायी बेलिब्रिज आजदेखि सञ्चालनमा आएको गाईघाट–दिक्तेल सडक योजना कार्यालयले जनाएको छ । 

फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान भएपछि विगत छ महिनादेखि अवरुद्ध पूर्वी तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकमा सिधा यातायात सुरु भएको छ । 

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै घुर्मी–कटारी हुँदै घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए । 

‘फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि करिब तीन घण्टाको दूरी छोटो भएको छ, यसले यातायात व्यवसायी र यात्रु दुवैलाई फाइदा हुन्छ’, उनले भने, ‘यो दीर्घकालीन समाधान होइन, यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’

फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्ने ठेक्का एमए÷एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी–३ ले लिएको थियो । मूल्य अभिवृद्धि कर (भ्याट)सहित ९६ लाख ७७ हजार ९३७ रुपैयाँमा ठेक्का सम्झौता गरेर फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको योजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर सुभासकुमार तिवारीले जानकारी दिए । 

गत वर्ष असोज १२ गते राति आएको अविरल वर्षाका कारण सुनकोसी नदीमा आएको भीषण बाढीले फोक्सिङटारको १२० मिटर लामो मोटरेबल पक्की पुल बगाएको थियो । फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि दिक्तेल–गाईघाट सिधा यातायात पूर्णरुपमा विच्छेद भएको थियो । 

करिब १३ वर्ष लगाएर निर्माण भएको आर्क डिजाइनको पुल बाढीले बगाएपछि गत वर्षको पुसमा जडान गरिएको बेलिब्रिज वर्षायाम सुरु भएसँगै निकालिएको थियो । बेलिब्रिज निकालिएसँगै यातायात सेवा विच्छेद भएपछि पूर्वी तराई आवतजावत गर्ने यात्रु झोलुङ्गे पुलमार्फत गन्तव्यमा पुग्ने गरेका थिए ।

फोक्सिङटारमा पुनःमोटरेबल पक्की पुल निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको बताइए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन । फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनःनिर्माण नभएसम्म खोटाङवासीको समस्या यथावत रहिरहने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए । 

सम्बन्धित समाचार